हत्या आरोपमा तीन जना विरुद्ध किटानी जाहेरी

तुलसीपुर
२२ कात्तिक ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँबस्ती निवासी २० बर्षीय टोप बहादुर पुनको हत्याको आरोपमा पीडित पक्षले तीन जना विरुद्ध किटानी जाहेरी दिएका छन् ।

पीडित पक्षले सोमबार ईलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएका हुन् । ईप्रका तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पीडित पक्षले गहतेरा बस्ने रेशम थापा, विनोद राना र खिम बहादुर राना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गराएका हुन् । उनीहरु तीनैजना फरार छन् ।


गएको शनिवार राति युवाहरुको समूहले आक्रमण गर्दा पुनको मृत्यु भएको थियो । साथै सोहि घटनामा मृतकका फुपुका छोरा सल्यान कपुरकोट गाउँपालिका ४ बस्ने शंकर डाँगी गम्भिर घाईते हुनुभएको छ ।

घाईते डाँगीको भारतको लखनउमा उपचार भईरहेको प्रहरीले बताएको छ । मृतक पुनको शवलाई पोष्टमाटमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।