सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिन्छौँ :सञ्चारमन्त्री शर्मा

दाङ, १५ फागुन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताएकी छिन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को कार्यालय निरीक्षण तथा भेटघाटका क्रममा उनले यस्तो धारणा राखेकी हुन् ।

ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि सोअनुकूल पर्याप्त कानुन नभएकाले आफू कानुन निर्माणमा केन्द्रित भएको बताइन् । नेपाली समाज धेरै अगाडि बढे पनि कतिपय क्षेत्रमा पञ्चायतकालीन कानुन रहेकाले यसको परिवर्तन गर्न सरकार लागेको पनि उनले बताइन् ।


नेपालको परिवर्तन र जागरणमा रेडियोहरूको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै उनले अब संख्यामा भन्दा गुणस्तरीय सामग्री निर्माणमा जोड दिन आग्रह गरिन् । अहिले समाजमा पर्याप्त कानुनी चेतनाको अभावमा बहुविवाह, छुवाछुतजस्ता जघन्य अपराध भइरहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमहरूले कानुनी साक्षरतामा सहयोग पुने सामग्री निर्माणमा ध्यान दिनुपर्ने बताइन् ।

अकोराबका अध्यक्ष अर्जुन गिरीले संघीय कानुन निर्माण गरी सामुदायिक रेडियोमा सहजीकरण गरिदिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएका थिए । सो क्रममा मन्त्री शर्माले सामुदायिक सूचना नेटवर्कको पनि निरीक्षण गरेकी थिइन् ।