एमाले सरकारबाट बाहिरिएपछि नक्कली भुटानी सरनार्थी बनाएर ठग्ने काम भयो : महासचिब पोख्रेल

दीपक बोहरा
दाङ,६ जेठ ।
नेकपा एमालेका महासचिब शंकर पोखरेलले एमाले नेतृत्वको सरकार हटेपछि नक्कली भुटानी सरनार्थीका नाममा ठगी धन्दा सुरु भएको बताएका छन् । नेत्रलाल अभागीको ४० औ स्मृति दिवसका अवसरमा शनिबार तुलसीपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिब पोखरेलले यस्तो बताए ।

एमाले दाङको आयोजनामा भएको कार्यक्रममा उनले एमाले नेतृत्वको सरकार रहेको बेला तेस्रो मुलुकमा पुनःस्थापित गर्ने प्रक्रिया टंगिसकेपछि बाँकी रहेका भुटानी सरनार्थीका सन्दर्भमा के गर्ने भन्ने विषयमा मन्त्री स्तरीय निणर्यबाट कार्यदल गठन भएको बताए ।‘नयाँ सरनार्थी राख्ने कुरा कार्यदलको प्रतिवेदनमा थिएन, राखिएको पनि थिएन ’,उनले भने‘तर, एमाले सरकारबाट बाहिरिएपछि त्यो प्रतिवेदनमा केरमेट गरेर नयाँ नामावली थप्ने र नागरिकहरुलाई ठग्ने धन्दा सुरु भयो ।’

त्यो धन्दामा दाङका केही राजनीतिकर्मीहरु पनि मतियार भएको कुरा बाहिर आएको भन्दै यो कार्य राष्ट्रमाथिकै घात भएको बताए । अहिले अनुसन्धानको कार्य जारी रहेको भन्दै यो कार्यमा दोषीलाई छोड्न नहुँने र निर्दोष फस्न नहँने बताए । यदि दोषी देखिए जो कोहीलाई पनि कडा भन्दा कडा कारवाही गर्नुपर्ने उनको भनाई थियो ।

साथै उनले राजनीतिक दलहरु कहिल्यै पुराना नहुँने बताए ।‘पाँच बर्षमा महाधिवेशन गर्ने, नीति अध्याबधिक गर्ने, नयाँ नेतृत्व चयन गर्ने राजनीतिक दलहरु कहिल्यै पुराना हुँदैनन्’,उनले भने‘ त्यो नबुझ्दा कतिपयलाई एमाले, काँग्रेस पुराना पार्टी भन्छन् । तर, नीति नभएको, उदेश्य, लक्ष्यनै कायम नगरेको पार्टी नै नयाँ पार्टी भन्छन्, त्यसो होईन् ।’

नीति, गन्तब्य, उदेश्य भएको पार्टी पुराना हुन नसक्ने भन्दै समाजमा लोकपृयता हाँसिल गरेपछि राजनीतिमा आएर आफूलाई स्थापित गर्न खोज्ने एकप्रकारको पपुलिष्ट राजनीति भित्रिएको भन्दै त्यसले समाज रुपान्तरणमा बाधा पुग्ने इतिहास साँक्षी रहेको उनले बताए ।‘पपुलिष्टको राजनीति गर्नेले एकाध चुनाब जित्न सक्लान ।


तर, समाजको आबश्यकता पूरा गर्न सक्दैनन्’,उनले भने‘ हामीले देख्न सक्दछौं भारतमै सिनेमा जगतका महानायक अमिताभ बचनले २ पटक मुख्यमन्त्री भइसकेका कमलापति त्रिपाठीलाई चुनाब हराए’,उनले भने‘ आज अमिताबले बुझे राजनीति मेरो विषय होइन रहेछ । कहिले कहि यस्ता प्रबृति राजनीतिमा देखा पर्छन । तर, त्यो सफलताको यात्रा हो त ? त्यसले समाजको चाहेको परिबर्तनको आकांक्ष पुरा गनृ सक्छ त ?’

एउटा कलाकारलाई राष्ट्रपति बनाउँदा युक्रेन तहसनहसो अबथामा आएको भन्दै यस्ता प्रबृतिमा जनता पनि सचेत हुनुपर्ने उनको भनाई थियो ।‘आज एकजना हाँस्य कलाकारलाई जिताउँदा युक्रेनले पीडा भोगिरहेको छ’,उनले भने‘ जनता, राष्ट्रलाई कसरी जोगाउने भन्ने राष्ट्रपतिलाई चासो छैन, । पश्चिमा मुलुकको घोडा बनेर अगाडी बढ्न खोज्दा तहसनहल भएको छ ।’

साथै उनले एमालेमा प्रवेश गर्नेहरुको लहर बढिरहेको समेत बताएका छन् । एमालेलाई विभाजन गर्नकालागि २० प्रतिशत सांसद वा केन्द्रीय कमिटि सदस्य भए पुग्ने खालको कानुन अहिले पनि सक्रिय भएको भए समाजवादीका अधिकांस सांसदहरु एमालेमा आउन चाहेको कुरा समेत दावी गरे । ‘यदि एमालेलाई विभाजन गर्ने कानुन जिवित राखिएको भए आज समाजवादी पार्टी यो रुपमा रहने थिएन’,उनले भने‘सबै सांसद एमालेमा जोडिने थिए । एमाले पहिलो पार्टी बन्थ्यो, तर, एमालेलाई बलियो हुन बाट रोकिएको छ ।’

एसका केन्द्रीय सचिव, पूर्व राज्यमन्त्रीसहितका जिल्ला कमिटि नै एमालेमा

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सचिव भागवत विश्वासी सहित दाङका नेताहरू एमालेमा फिर्ता भएका छन् । सोही कार्यक्रममा उनीहरूलाई एमालेका महासचिव शंकर पोखरेलले स्वागत गरेका हुन् । एमालेमा फिर्ता हुनेहरुमा केन्द्रीय सचिव विश्वासीसँगै केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वणर्कार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूणर्बहादुर वली, सचिव डिल्ली डाँगीलगायत रहेका छन् ।