वडाले जग्गा लिजमा लिएर किसानलाई दिने, उत्पादनमा जोड्ने

दीपक बोहरा,
तुलसीपुर,२१ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.११ वडाका गरीब परिवारलाई लिजमा जग्गा दिने भएको छ । ६ महिनासम्म खाना नपुग्ने गरीब घरपरिवारलाई पहिचान गरि प्रत्येक परिवारलाई ५ कठ्ठाका दरले जग्गा दिने भएको छ । वडाले उत्तरधारा जलाशय निर्माण गरिसकेकाले त्यस आसपासको २० विघा जग्गा लिजमा लिएर त्यो जग्गा किसानलाई उत्पादनकालागि उपलब्ध गराउने तयारी रहेको वडाध्यक्ष मानबहादुर रावतले बताउनुभयो ।“हाम्रो वडामा अधिकांस खेति किसानी गरेर जीवन निर्वाह गर्ने समुदाय छ”,उहाँले भन्नुभयो“उहाँहरुको जीवन निर्वाहकालागि हामीले यो योजना अघि बढाएका हौं ।”

त्यसकालागि सूचना समेत प्रकाशन गरिएको छ । फागुन महिनासम्म सूचना आह्वान गरिएको र, त्यसपछि गरीब घर परिवार तथा बेरोजगारहरुको मूल्यांकन गरेर जग्गा दिने उहाँको भनाई छ ।“हामीले प्रत्येकलाई ५ कठ्ठा जग्गा दिने छौं’,अध्यक्ष रावतले भन्नुभयो“त्यो बापत कुनै रकम पनि लिइनेछैन ।” किसानलाई त्यो जग्गामा फलफूल तथा तरकारी खेति गर्नुपर्नेछ । उत्पादन भएको तरकारी बजरीकरण गर्ने जिम्मा पनि वडाले नै लिने वडाध्यक्ष रावतको भनाई छ ।

उत्पादन भएको तरकारी बजारीकरणमा पनि उत्तिकै समस्या रहने गरेको भन्दै त्यसलाई बजारीकरणमा पनि वडाले नै जिम्मा लिने बताउनुभयो । विउ,मलमा पनि सहयोग गर्ने उहाँले बताउनुभयो ।


त्यहाँ करिब २० विघा क्षेत्रफलमा सिंचाई गर्नकालागि जलाशय निर्माण भएको र त्यसलाई लिफ्ट मार्फत खेतमा पु¥याउने तयारी रहेको छ । करिब ३० लाखको लागतमा त्यहाँ जलाशय निर्माण गरिएको हो ।

किसानलाई प्राथमिकता
वडाले किसानलाई प्राथमिकता राखेर काम गरिरहेको छ । केही समय अघि उत्पादित कृषिजन्य बस्तु घोडा मार्फत बजार लैजाने ब्यबसायीहरुलाई प्रोत्साहन स्वरुप १० हजार उपलब्ध गराईएको थियो, भने सम्मान पनि गरिएको थियो । त्यस्तै भैसी पालन ब्यासयीहरुलाई पनि प्रोत्साहन गर्ने तयारी रहेको वडाध्यक्ष रावतले बताउनुभयो । ब्यबसायीक रुपमा भैसी पालन ब्यबसाय गरेकाहरुलाई दानाकालागि सहयोग गर्ने बताउनुभयो ।