अमेरिका जाने क्रममा पानामाको जंगलमा नेपाली युवाको मृत्यु

रुकुम, १६ पुष ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १० का एक युवकको अमेरिका जाने क्रममा मृत्यु भएको छ । अवैध तरिकाले अमेरिका छिर्न लागेका आठबिसकोट– १० भयाउनेका २० वर्षीय मदन शाहीको पानामाको जंगलमा मृत्यु भएको हो ।

शाहीको डिसेम्बर ११ अर्थात् गत मंसिर २५ गते नै मृत्यु भएको थियो । पानामामा खोला तर्ने क्रममा भाइको बगेर ज्यान गएको ढिलो गरी जानकारी आएको उनका दाइ कपिल शाहीले जानकारी दिए । खोला तर्नका लागि राखिएको डोरी चुडिँदा खोलामा बगेर भाइको मृत्यु भएको जानकारी बिहीबार मात्र पाएको उनले बताए ।

भाइको टोलीमा अन्य नेपाली नभएका कारण मृत्युको जानकारी आउन समय लागेको उनले बताए । उनका अनुसार भाइसँग गएका केही व्यक्तिलाई ब्राजिलबाट फर्काइएको थियो भने अन्य देशका टोलीसँग भाइ मात्र अवैध मार्ग हुँदै अमेरिकातर्फ गएका थिए ।


मृतक मदन पाँच भाइमध्येका काइँला हुन् । उनी गत फागुन १८ गते अमेरिकाका लागि नेपालबाट निस्किएका थिए । अहिलेसम्म भाइका लागि करिब ४० लाख खर्च भइसकेको कपिलले बताए । भाइको शव नेपाल ल्याउन पहल भइरहेको र यसका लागि जेठा दाइ हर्क शाही काठमाडौं गएको उनको भनाइ छ ।

यसअघि पनि अवैध तरिकाले अमेरिका जाने क्रममा तीन रुकुमेलीको मृत्यु भएको थियो । जिल्लाको मुसिकोट नगरपालिका– ५ का ४१ वर्षीय रमेश गौतम र बाँफीकोट गाउँपालिकाका २६ वर्षीय प्रदीप खत्रीको गत कात्तिक २५ गते मृत्यु भएको थियो । त्यस्तै, गत वर्ष बाँफीकोट गाउँपालिकाका रूपक बोहराले पनि बाटोमै ज्यान गुमाएका थिए ।