अन्तरपालिका स्तरिय न्यायिक समिती समन्वय बैठक सम्पन्न

शान्तिनगर, १२ पुष ।
दाङको शान्तिनगर गाउँपालिकाको आयोजना, आइएम स्विडिस डेभलपमेन्ट पार्टनर नेपाल र समाजमा वातावरणीय शिक्षाको बिकास (सीड) संस्थाको सहयोगमा अन्तरपालिका स्तरिय न्यायिक समितीको समन्वय बैठक सम्पन्न भएको छ।

शान्तिनगर गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक प्रेमा कुमारी बुढाथोकीको अध्यक्षता तथा बबई गाउँपालिकाका उपाध्यक्ष एवम न्यायिक समिती संयोजक बमकुमारी खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दाङ जिल्लाका तुलसीपुर उपमहानगरपालिका, दङ्गिशरण गाउँपालिका, बबई गाउँपालिका र शान्तिनगर गाउँपालिका स्थानिय न्यायिक समितिका तर्फबाट, आर्थिक बर्ष २०७९/८० को हालसम्मको अबधिमा उजुरिको अवस्था, फर्चौटको अवस्था, आइपरेका चुनौती, चुनौती समाधानका लागि अपनाइएको विधि तथा सिकाइ तथा भावी योजनाका सम्बन्धमा सम्बन्धित पालिकाका उजुरी प्रसासक, सहायक प्रसासकका तर्फबाट प्रस्तुतीकरण गरिएको थियो।


बिशेषत लैङ्गिक हिंशाका घटनामा स्थानीय न्यायिक समितिको समान बुझाइ निर्माण गर्न र न्यायिक समितिका राम्रा अभ्यास तथा न्याय निरुपणमा अपनाइने विधि तथा प्रक्रियामा सहजता ल्याउन र एक आपसमा सहयोग आदान प्रदान गर्नका लागि सहजता ल्याउने उदेश्यका साथ बैठक सम्पन्न गरिएको सिड संस्थाका कार्यक्रम संयोजक उमेश खरेलले बताउनु भयो।

शान्तिनगर गाउँपालिकाका प्रसासन शाखा प्रमुख एवम उजुरी प्रसासक कृष्ण कुमार कडेलले सहजीकरण गर्नुभएको बैठकले न्यायिक निरुपणका गर्दा आइपर्ने समस्या तथा जटिलता समाधानका लागि एक आपसमा सहयोग आदान प्रदान गर्दै अगाडि बढ्ने निर्णय गर्दै सम्पन्न भएको छ।