सल्यानमा विमानस्थलका लागि सम्भाव्यता अध्ययन सुरु

सल्यान, १ पुष ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सल्यानमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय सल्यानमा विमानस्थलका लागि बिहीबार बसेको बैठकपछि स्थान पहिचान गरेर प्राधिकरणले अध्ययन सुरु गरेको हो ।

बैठकमा जिल्लाको शारदा नगरपालिका ५ ढार, २ लुहापिङ्ग, चन्द्रपाला , छत्रेश्वरी गाउँपालिका ५ लेखपोखराको लेखानाचौर र बाग्चौर नगरपालिका ८ कोटमौला नजिकैको स्थानलाई छनोट गरिएको थियो । प्राधिकरणको प्राविधिक टोलीले बिहीबार शारदा नगरपालिका ५ ढार हुँदै लुहापिङ्ग र चन्द्रपालाको स्थान अध्ययन गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका विमानस्थल निर्माण विज्ञ गुरुदत्त अधिकारीले सबै किसिमको अध्ययन गरिसकेपछि कुन स्थान विमानस्थल बनाउनका लागि उपयुक्त छ भन्नेबारे सार्वजनिक गरिने र त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउने बताए । अध्ययनका लागि केही दिन सल्यानमै बस्ने उनले जानकारी गराए । ‘अध्ययनपश्चात वातावरण, भौगोलिक बनावट, ट्राफिक, पहिरो जाने/नजाने क्षेत्र, पानीको मुहान भए/नभएको, हावा चल्ने/नचल्ने र कुहिरो लाग्ने/नलाग्ने क्षेत्र पहिचान गर्नेछौँस त्यसपछि मात्र केही भन्न सकिन्छ‚’ उनले भने ।

जिल्लाको भौगोलिक बनावटका आधारमा ८ सय मिटर रन-वेसम्मको १८ देखि २० सिट क्षमता भएको प्लेन आउजाउ गर्न सक्ने विमानस्थल बनाउन सकिने अर्का विज्ञ युवराज रिजालले बताए । ८ सय मिटर रन-वे विमानस्थल बनाउनका लागि शारदा नगरपालिका ५ ढारको स्थान कम हुने देखिएको उनले जानकारी गराए । उनले भने‚ ‘स्थान छनोट गर्दा सरकारलाई आर्थिक भार कम पर्ने, नियमित उडान गर्न सक्ने तथा नसक्ने त्यसलाई मध्यनजर गरिनेछ ।’

सल्यानमा एउटा विमानस्थल अत्यावश्यक भएकाले विमानस्थल अध्ययनका लागि नागरिक उड्डयन प्राधिकरणबाट प्राविधिकको टोली बोलाइएको संघीय सांसद प्रकाश ज्वालाले बताए । आकस्मिक रुपमा कसैलाई बाहिर जानुपर्‍यो तथा कुनै घटनामा परेका बिरामीलाई तत्काल उद्धार गर्नुपर्‍यो भने अहिले पनि गाडीभन्दा अन्य विकल्प नभएकाले विमानस्थलको अवधारणा अघि सारिएको उनले जानकारी दिए । ‘योभन्दा पहिला जिल्लाको कालिमाटी गाउँपालिका १ कोट र छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा अध्ययन गरे पनि अध्ययनमै सीमित भएको थियो । अब भने अध्ययन सकिनासाथ हामी प्रक्रिया अगाडि बढाउनेछौँ‚’ उनले भने ।


पछिल्लो समयमा मानिसहरू छिटो सजिलो र सहज रुपमा यात्रा गर्न चाहने भएकाले विमानस्थल आवश्यक देखिएको प्रदेश सांसद सुरेश अधिकारीले बताए । विमानस्थल निर्माणका लागि सबैभन्दा पहिलो प्राथमिकता सदरमुकाम आसपासका क्षेत्रलाई दिइएको र विकल्प नभएपछि अन्य पालिकाका बारेमा प्रक्रिया अगाडि बढाउने उनले उल्लेख गरे ।

उनका अनुसार पछिल्लो समयमा सदरमुकाम सुनसान बन्दै गएको छ । व्यापार व्यवसाय घटेको छ । यहाँका स्थानीय बिस्तारै विस्थापित हुँदै गएका छन् । सदरमुकामलाई स्थापित गर्न पनि सदरमुकाम आसपासका स्थानलाई प्राथमिकता दिइएको हो ।

विमानस्थल निर्माणका लागि सबैलाई पायक पर्ने स्थान छनोट गर्न र पछि गएर सञ्चालनमै नआई बन्द हुने अवस्था सिर्जना हुन नदिन त्यहिअनुसार अध्ययन गर्न प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले प्राधिकरणको प्राविधिक टोलीलाई सल्लाह दिएका छन् । विमानस्थल निर्माण भए सबैलाई सहज हुने उनको भनाइ छ ।

जिल्लाबासीले भने विमानस्थल निर्माणको विषय अध्ययनमै सीमित हुन नदिन सम्बन्धित निकाय र जिल्लाबाट निर्वाचित सांसदहरूसँग आग्रह गरेका छन् । उनीहरूले सदरमुकाम आसपासमै विमानस्थल उपयुक्त हुने दाबी गरेका छन् ।