उपमहानगरपालिकाको गेटमा‘मेयर’ हराएको सूचना

दाङ,२५ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिकाको गेटमा ‘मेयर’ हराएको सूचना टाँसिएको छ । तुलसीपुर उद्योग बाणिज्य संघले आईतबार गेटमा मेयर हराएको सूचना टाँसे । तुलसीपुरमा आजदेखि सुरु भएको महोत्सवको विरुद्धमा दिनभर गेटमा धर्ना दिए ।

उपमहानगरपालिकाको मुख्य गेटमा पनि तालाबन्दी गरे । तर, पनि मेयर टिकाराम खड्का दिनभर उपमहानगरपालिकामै नआएपछि टोलीले गेटमै मेयर हराएको सूचना भन्दै पेन्ट गरेको छ ।“हामीले दिनभर मेयरको प्रतिक्षा ग¥यौँं, हामीले मेयरसंग वार्ता गर्न चहान्थ्यौं”,संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले भने“तर, हामीलाई मेयरले न त फोन गर्नुभयो, न त कार्यालयमा नै आउनु भयो ।”

मेयरलाई भेटाएमा फोन गर्नुहोला भनि नम्बर पनि दिइएको थियो । उपमहानगरपालिका कार्यालय दिनभर बन्द हुँदा सेवाग्राही मर्कामा परेका थिए । तुलसीपुरमा युथ्स् अफ क्लब तुलसीपुरले आईतबारदेखि महोत्सव सुरु गरेको छ । उक्त महोत्सव पुस ६ गतेसम्म सञ्चालन हुनेछ । तर,उद्योग बाणिज्य संघले महोत्सव अवधीभर उपमहानगरपालिका कार्यालय बन्द गर्ने निर्णय गरेको छ । संघले उपमहानगरपालिकाको असक्षम निर्णयका कारण महोत्सवको विषयमा विवाद उत्पन्न भएको संघका महासचिब विनिल केसीले बताए ।

उपमहानगरपालिकाले दोहोरो चरित्र देखाउँदा विवाद सिर्जना भएको उनले बताए । मंसिर १५ गते दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कासहितको सहभागितामा भएको सर्वपक्षिय बैठकले ४ वुदे सहमति गरेको थियो ।


जसको दोस्रो नम्बर बुदामा युथ्स् अफ तुलसीपुरले महोत्सव पुनः लगाउन चाहेमा उद्योग बाणिज्य संघ र चेम्बरको सूचि अनुसार मात्रै ब्यापारिक स्टल राख्न सकिने भन्ने सहमति थियो । त्यो सहमति कार्यान्वयन नभएको भन्दै संघले आन्दोलन जनाएको हो । संघले ब्यबसायिक कर, फोहर ब्यबस्थापन कर केही पनि नतिर्ने निर्णय गरेको समेत बताए ।

मन्त्रीद्वारा महोत्सव उद्घाटन

महोत्सव भने आईतबार उद्घाटन भएको छ । लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिंचाई राज्य मन्त्री अर्जुन कुमार श्रेष्ठले महोत्सव उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले महोत्सको उद्देश्य पवित्र रहेको भन्दै यसलाई सफल पार्नुपर्ने बताए । तुलसीपुरमा पुस्तकालय स्थापनाकालागि महोत्सव सञ्चालन गरिएको हो ।

महोत्सव सकिएको केही महिनामै तुलसीपुरमा पुस्तकालयकाको सिलन्यास गरिसक्ने युथ्स् अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले बताए । महोत्सवमा बिभिन्न दुईसय बढि स्टलहरु राखिएको छ ।