दाङ, १२ असोज ।
देउखुरी डिभिजन वन कार्यालय लमहीले राप्ती गाउँपालिका–९ बाट अवैध सालका चिरान काठ बरामद गरेको छ ।
उक्त क्षेत्रमा अवैध काठ राखेको गोप्य सुचनाका आधारमा प्रहरी र वन अधिकारीको संयुक्त गस्ती टोलीले चौरानब्बे थान चिरान घप्पु बरामद गरेको देउखुरी डिभिजन वन कार्यालय लमहीका सुचना अधिकारी छोटेलाल चौधरीले जानकारी दिए ।
राप्ती गाउँपालिका–९ का वडाध्यक्ष रिम बहादुर सुनारी मगरको बारिबाट सतहत्तर थान चिरान घप्पु र दुर्योधन घर्तीको घर नजिकै चट्टा राखेको अवस्थामा सत्ताइस थान घप्पु बरामद गरिएको डिभिजन वन कार्यालय लमहीले जानकारी दिएको छ ।
वडाअध्यक्ष सुनारी मगरको बारिमा राष्ट्रिय वनबाट अवैध रुपमा सालको काठ काटी राखेको भन्ने हामीले सुचना पायौं, सुचनाकै आधारमा हाम्रो टोलीले ती काठ बरामद गरेको हो । देउखुरी डिभिजन वन कार्यालय लमहीका डिभिजनल प्रमुख राजु क्षेत्रीले बताए ।
सबै काठ बरामद गरेर सब डिभिजन वन कार्यालय गढवामा राखेको छ । बरामद काठको बारेमा थप अनुशन्धान भैरहेको प्रमुख क्षेत्रीले जानकारी दिए ।
त्यस्तै गढवा गाउँपालिकाको गोबरडिहाबाट केही थान घप्पु सहित एक जनालाई पक्राउ परेका छन ।
लाइभदाङ । १२ आश्विन २०७९, बुधबार १३:१९ बजे