दाङ उवासंघको अध्यक्षका उम्मेदवार श्रेष्ठ भन्छन्ः लगानीमैत्री दाङ र सशक्त निजी क्षेत्र

दाङ, २३ असोज ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि यहि असोज २४ गते निर्वाचन हुँदैछ। सहमतिमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्न लागिएको हो। अध्यक्ष पदमा नरेशकुमार श्रेष्ठ, अनिल आचार्य र ध्रुवकुमार गहतराजबिच प्रतिस्पर्धा हुँदैछ। संघको सचिव र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठले यस पटक अध्यक्षमा प्रतिष्पर्धा गर्दैछन् । अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले उद्योगी–व्यवसायीका समस्या समाधान, लगानीको वातावरण निर्माण, औद्योगिक क्षेत्र निर्माण, पर्यटन पूर्वाधार विकास, कोइलाबास नाका सञ्चालन, नियमित हवाई सेवा र स्थानीय उत्पादनको बजार विस्तारलाई मुख्य एजेन्डा बनाएका छन्। यसै सन्दर्भमा अध्यक्ष पदका उम्मेदवार नरेशकुमार श्रेष्ठसँग गरिएको कुराकानीको सारसंक्षेप ।

तपाईंले अध्यक्षमा उम्मेदवारी किन दिनुभयो ?
सचिव र वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहँदा व्यवसायीका समस्या नजिकबाट बुझ्ने र सम्बन्धित निकायसँग समन्वय गर्ने अवसर पाएँ। अब त्यही अनुभवलाई नेतृत्वमा प्रयोग गर्दै जिल्लाको आर्थिक विकासमा थप योगदान गर्न चाहन्छु। मेरो उम्मेदवारी व्यक्तिगत पदका लागि मात्र होइन, निजी क्षेत्र र राज्यबिच प्रभावकारी समन्वय स्थापित गर्ने उद्देश्यले हो।

तपाईंका मुख्य एजेन्डा के हुन् ?
व्यवसायीका समस्या समाधान नै मुख्य एजेन्डा हो। कर, नापतौल, घरबहाल कर, व्यवसाय दर्ता तथा नवीकरणमा अझै समस्या छन्। कतिपय अवस्थामा विभिन्न नाममा व्यवसायीलाई दुःख दिइन्छ। अर्को महत्वपूर्ण विषय लगानीको वातावरण हो। लगानी सुरक्षित छ भन्ने अनुभूति नभई नयाँ लगानी आउँदैन, भएका लगानी पनि जोखिममा पर्न सक्छन्। औद्योगिक क्षेत्रको काम अघि बढाउने, पर्यटन विकास, कोइलाबास नाका र नियमित हवाई सेवा सञ्चालनका लागि पनि पहल गर्नेछौँ।

औद्योगिक क्षेत्रको विषय कहाँ पुगेको छ ?
दाङमा अहिलेसम्म व्यवस्थित औद्योगिक क्षेत्र बन्न सकेको छैन । सरकारले लक्ष्मीपुर औद्योगिक क्षेत्र घोषणा गरेपनि बजेट बिनियोजन नगर्दा डिपिआरसम्मको काम भएपनि अघि बढ्न सकेको छैन। संघले लामो समयदेखि पहल गर्दै आएको छ। औद्योगिक क्षेत्र घोषणा मात्र भएर हुँदैन, बजेट, पूर्वाधार र व्यवस्थापनको काम अघि बढ्नुपर्छ। जिल्लामा नापतौल कार्यालय नहुँदा व्यवसायी नेपालगञ्ज वा भैरहवा जानुपर्ने अवस्था छ, यस्ता आधारभूत सेवा जिल्लामै उपलब्ध गराउन पहल गरिनेछ। यी समस्या समाधानका लागि पहल गर्ने छौ ।

दाङमा उद्योग व्यवसायका सम्भावना कस्ता छन् ?
कृषि, पशुपालन र पर्यटनमा प्रशस्त सम्भावना छ। कुखुरापालनका दृष्टिले दाङ महत्वपूर्ण जिल्ला हो, खसी–बोकाको उत्पादन तथा निर्यात पनि भइरहेको छ। सिमेन्ट उद्योग सञ्चालनमा छन्, बीउ उत्पादन सुरु भएको छ, ह्याचरी, दाना र दुध प्रशोधन उद्योग स्थापना भएका छन्। यस्ता उद्योगलाई प्रविधि, बजार र लगानीसँग जोड्न सके स्थानीय अर्थतन्त्र बलियो हुन्छ। भारतबाट धार्मिक पर्यटक आउने गरे पनि सम्भावनाअनुसार पूर्वाधार र लगानी हुन सकेको छैन।


व्यवसायीले भोग्ने मुख्य चुनौती के हुन् ?
कोभिड–१९ महामारी र त्यसपछिका आन्दोलनले निजी क्षेत्रलाई ठूलो असर गरेको छ। दक्ष जनशक्तिको अभाव ठूलो समस्या हो। व्यवसायीले तालिम दिएर जनशक्ति तयार गरे पनि केही समयपछि उनीहरू विदेशिने गरेका न्। स्वदेशमै रोजगारी र उद्यमको वातावरण बनाउन राज्यले पहल गर्नुपर्छ। राज्यले व्यवसायीलाई राजस्व सङ्कलनको माध्यम मात्र ठानेर हेर्नु हुँदैन। राज्यले व्यवसायीलाई स्वदेशमै लगानी गर्ने व्यवस्था र गरेका व्यवसायलाई दिर्घकालिन रुपमा सञ्चालन गर्ने व्यवस्था गरिदिए व्यवसाय गर्न सहज हुनेछ । त्योसँगै व्यवसायीलाई सहुलियतामा ऋण, नापतौल, करलगायतका समस्याहरु छन, ती समाधान गर्न आवश्यक छ । त्यसका लागि पहल गर्नेछु । औद्योगिक क्षेत्र स्थापना, हवाई सेवासँगै कोइलावास नाका सञ्चालनका लागि पहल गर्दै छौ । नेतृत्वमा पुगेपछि नेतृत्व तहमै गएर थप पहल गर्ने छौ ।

राज्यले व्यवसायीलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?
नीति स्थिर हुनुपर्छ। सरकार परिवर्तनसँगै नीति, नियम र करका दर फेरिँदा दीर्घकालीन योजना बनाउन कठिन हुन्छ। सहुलियतपूर्ण ऋण, कर सहुलियत, पूर्वाधार, बजार सुनिश्चितता र एकद्वार सेवा आवश्यक छ। त्यसका लागि संघको नेतृत्वमा पुगेपछि पहल गर्नेछु ।

स्थानीय उत्पादनको बजार विस्तारका लागि के गर्न आवश्यक छ ?
उत्पादनसँगै बजार आवश्यक हुन्छ। गुणस्तर, प्याकेजिङ, भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यान दिनुपर्छ। कृषिमा आधारित उद्योग स्थापना भए किसानले राम्रो मूल्य पाउँछन् र उद्योगले कच्चा पदार्थ। दक्ष जनशक्तिका लागि संघले शैक्षिक तथा प्राविधिक संस्थासँग सहकार्य गरी बजारको मागअनुसार तालिम सञ्चालन गर्ने व्यवस्था गर्ने छौ ।

अन्त्यमा केही भन्नुहुन्छ ?
हामीले गर्न नसक्ने कामलाई ‘गर्छौँ’ भनेका छैनौँ, जे गर्न सकिन्छ त्यही एजेन्डामा राखेका छौँ। हाम्रो उद्देश्य कुरा गर्ने होइन, काम गरेर देखाउने हो। उद्योग व्यवसाय बलियो भए रोजगारी बढ्छ, उत्पादन बढ्छ र जिल्लाको अर्थतन्त्र बलियो हुन्छ। राज्य र निजी क्षेत्रबिच सहकार्यको वातावरण बनाउन आवश्यक छ