अन्धोपन न्यूनीकरणका लागि साझेदारी प्रतिवद्धता

तुलसीपुर २२ जेठ ।
सबैको सहकार्य र एकताले मात्र जिल्लाको अन्धोपन न्युनीकरण हुने जनप्रतिनिधिहरुले धारणा व्यक्तगरेका छन् । पालिकाका जनप्रतिनिधिहरुले धेरै जनताहरु आँखा स्वास्थ्य सेवाबाट बन्चित भएको भन्दै सर्वसुलभ र गुणस्तरी सेवा प्रवाहका लागि आफुहरु लाग्ने समेत बताए ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको आयोजना तथा एनएवीपी नर्वेको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघको “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी ’’ छलफल कार्यक्रममा बोल्दै रुकुम पश्चिमका नगर तथा गाउँपालिका प्रमुख तथा उपप्रमुख प्रशासकहरुले सवैको उद्धेश्य र लक्ष्य एउटै भएको भन्दै कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्लामा रहेको अन्धोपन न्यूनिकरण गर्न आफुहरु प्रतिवद्ध भएको बताए ।

मुसिकोट नगरपालकिा, बाफीकोट, त्रिवेणी, सानीभेरी गाउँपालिका ,चौरजाहारी नगरपालिका र आठविसकोट नगरपालिकामा रहेको अन्धोपन न्यूनिकरण गर्न आफुहरुले साझेदारी कार्यक्रम गर्ने सहभागीको भनाई थियो । नेपाल नेत्रज्योति संघ रुकुम पश्चिमका सभापति शिवराम खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिका उपप्रमुख विमलकुमार पुन मगरले आफ्नो पालीकामा रहेको अन्धोपन न्यूनिकरण र जिल्ला सर्जिकल सेन्टरको विकासका लागि सहयोग गर्ने बताए ।

‘हिजो पनि हाम्रो सहयोग रहेको थियो भोलि पनि रहने छ उनले भने ।’ उनले आफुहरुसंगै हातेमालो गरेर अगाडी बढन तयार रहेकोको बताए । त्यस्तै सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले विगत देखि आँखा उपचार केन्द्र संग साझेदारी गरि आँखा शिविर गरेर सहयोग गदै आएको आगामी दिनमा पनि हुने बताए । उनले सबैको समन्वय सहयोगलेमात्र अन्धोपन न्युनिकरण हुने बताए । “हामीहरु सहयोगका लागि सधै तयार छौं साझेदारी र सहयोग हुने छ ।’ उनले जिल्ला सर्जिकल सेन्टरलाई अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख प्रशासक सम्शेर थापाले सहयोगी दातृ निकाय, राष्ट्रिय स्वास्थ्य नीति २०७६ र आँखा स्वास्थ्य रणनीति २०७९/२०८६ को विषयमा सहभागीहरुलाई प्रकाश पारेका थिए । थापाले कणाली प्रदेश मुसिकोट नगरपालकिा, बाफीकोट, त्रिवेणी, सानीभेरी गाउँपालिका ,चौरजाहारी नगरपालिका र आठविसकोट नगरपालिकामा रहेको अन्धोपनको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

थापाले नगरपालिका गाउँपालिकाले सञ्चालन गरेको साझेदारी कार्यक्रम, भावि योजना र आगामी आर्थिक वर्षमा हुने साझेदारी कार्यक्रम बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नगरपालिका गाउँपालिका समक्ष आँखा उपचार केन्द्र रुकुम पश्चिमको विकासका लागि प्रस्तावना पेश गरिएको थियो । कार्यक्रमको सहजिकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।


त्यसैविच रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा आँखा सर्जिकल सेन्टर उद्घाटन गरिएको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज,राप्ती आँखा अस्पतालद्धारा सञ्चालित आँखा उपचार केन्द्रलाई जिल्ला सर्जिकल सेन्टरको रुपमा विकास गरि उद्घाटन गरिएको हो । नेत्र ज्योति संघ रुकुम पश्चिमका सभापति शिवराम खत्रीका अनुसार जिल्लाको आवश्यकता र सेवाग्राहीको मागका आधारमा सर्जिकल सेन्टरको सुरुवात गरिएको छ । यसबाट रुकुमेली नागरिकले अब जिल्लामै आँखाको शल्यक्रिया गर्न पाउने भएका छन् ।

त्यस्तै ठूलो आर्थिक रकम खर्चेर जिल्ला बाहिर जानुपर्ने बाध्यताको समेत अन्त्य भएको नेत्र ज्योति संघका सभापति खत्रीले बताए । सर्जिकल सेन्टरको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम केसीले गरेकी हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनीले सबैको साथ र सहयोगले आँखा उपचार केन्द्रलाई जिल्ला सर्जिकल सेन्टरको रुपमा विकास गरि जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्नुपर्ने बताइन् । उनले आफुहरुको साथ सहयोग सधै रहने समेत बताइन् ।

यो आँखा उपचार केन्द्रलाई सर्जिकल सेन्टर गरिएको छ अब जिल्ला आँखा उपचार अस्पताल गराउनुपर्छ उनले भनिन् र साथै उनले त्यसका लागि सबैले सहयोग गर्नुपर्ने बताइन् । यसैगरी आँखा सर्जिकल सेन्टर उद्घाटन कार्यक्रमको समारोहमा ६ वटै पालिकाका पूर्व प्रमुख तथा अध्यक्ष, विभिन्न संघ संस्था र व्यक्तिहरु गरी २० जनालाई सम्मान पत्र मार्फत सम्मान गरिएको छ । कार्यक्रममा आँखा सर्जिकल सेन्टरका लागि थप उपकरण तथा अन्य व्यवस्थापन गर्न केही समय लाग्ने भएकाले आगामी आर्थिक वर्षदेखि सर्जिकल सेवाको थालनी गरिने बताइएको छ ।

२०६८ सालमा स्थापना भएको नेत्र ज्योति संघ रुकुम पश्चिमले १२ वर्ष पछि आँखा सर्जिकल सेन्टरको उद्घाटन गरेको छ । अहिले ३ महिनामा एक पटक र त्यसपछि आवश्यकता अनुसार शल्यक्रिया गर्नुपर्ने विरामीको चापलाई हेरेर यहि सल्यक्रिया गर्ने गरि छलफल भएको राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले बताए ।

नेपाल नेत्रज्योति संघ रुकुम पश्चिमका सदस्य विष्णुबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुन, सानिभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, नेपाल नेत्रज्योति संघ दाङका सदस्य केपी घिमीरे, नेकपा एमालेकी उपसचिव रत्ना मल्ल, नेकपा समाजवादीका सुरजकुमार परियार, प्रमुख जिल्ला अधिकारी हरीप्रसाद चन्द, पूर्व नगरप्रमुख देविलाल गौतमलगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण सचिव टेकबहादुर कुसारीले गरेका थिए ।