
दीपक बोहरा
दाङ, १७ साउन ।
दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थल विस्तारको विषयलाई लिएर दाङमा राजनीतिक गर्माएको छ। नेपाली कांग्रेसका नेता दीपक गिरीले शनिबार दाङको हापुरेमा भाएको एक कार्यक्रमाम विमानस्थल विस्तारका प्राविधिक र आर्थिक कठिनाइ देखाउँदै काम हुन नसक्ने दाबी गरेपछि दाङ क्षेत्र नम्बर ३ का सांसद कमल सुवेदीले त्यसको कडा काउन्टर दिएका छन् ।
नेता गिरीले टरिगाउँ विमानस्थल विस्तारका लागि १७ बिघा जग्गा अधिग्रहण नगरेसम्म कुनै पनि हालतमा विमानस्थल नबन्ने ठोकुवा गरे । उनले जग्गा मुआब्जाका लागि मात्रै ७० देखि ९० करोड रुपैयाँ आवश्यक पर्ने र त्यो रकम सरकारले विनियोजन नगरेसम्म टेन्डर प्रक्रिया नै अघि बढ्न नसक्ने जिकिर गरे ।
विगतका १ करोड र ५ करोड जस्ता साना बजेटहरूले धावनमार्ग विस्तार नभई स–साना काम मात्रे हुने गरेको भन्दै उनले अहिलेको २५ करोड बजेटले पनि मुआब्जाको समस्या समाधान नगरेसम्म ठोस नतिजा नदिने बताए ।
नेता गिरीको यस नकारात्मक टिप्पणीप्रति लक्षित गर्दै सांसद सुवेदीले कडा प्रतिक्रिया दिएका छन् । सुवेदीले विकासका काममा ‘हुँदैन’ भन्ने पुरानो र निराशावादी सोच त्याग्नुपर्ने बताए । टरिगाउँ विमानस्थल दाङको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै उनले अबको नेतृत्वमा ‘गरौँ र बनाऔँ’ भन्ने दृढ संकल्प हुनुपर्नेमा जोड दिए ।
सुवेदी केही दिन अघि तुलसीपुर उद्योग बाणिज्य संघको स्वागत कार्यक्रममा ५ बर्ष भित्रका ७२ सिटे जहाज अवतरण गराउने प्रतिबद्धता जनाएका थिए । यदि त्यसो गर्न नसकिएमा आफ्नो राजनीतिक भविष्य समेत सकिने बताएका थिए ।



लाइभदाङ । १७ श्रावण २०८३, आईतवार ००:१६ बजे