
तुलसीपुर, २३ असोज ।
सवारी दुर्घटनाको जोखिम कम गर्न तथा सडकमा लेन अनुशासन कायम गराउने उद्देश्यका साथ दाङको तुलसीपुर–६ स्थित डिभाइन टेम्पल एजुकेशन फाउण्डेशनले तुलसीपुरको गुम्रराहचोकमा सडक डिभाइडर उपलब्ध गराएको छ । सो क्षेत्रमा डिभाइडर नहुँदा सवारीसाधनहरूले लेन अनुशासन उल्लंघन गर्ने र दुर्घटनाको सम्भावना उच्च रहने गरेकाले फाउण्डेशनले यो सहयोग गरेको हो ।
डिभाइडर स्थापना कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका शम्भु धिताल र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी लगायतको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत भोजराज न्यौपानेले संस्थाले शैक्षिक पठनपाठनका साथै मानवीय सुरक्षामा पनि सहयोग र्पुयाउने उद्देश्यले डिभाइडर प्रदान गरेको बताए । सडकमा डिभाइडर राखेपछि सवारीचालकहरू लेन अनुशासनमा रहने र सवारी दुर्घटनामा उल्लेख्य कमी आउने उनको विश्वास रहेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले शैक्षिक संस्थाले विद्यार्थीलाई ज्ञान र सीप दिनुका साथै मानवीय सुरक्षामा खेलेको यो भूमिकाको प्रशंसा गरे । डिभाइडरको सङ्ख्या थोरै भए तापनि यसले सडक सुरक्षा बढाउनुका साथै ट्राफिक नियम पालनाको महत्वपूर्ण सन्देश प्रवाह गर्ने उनको भनाई छ ।
यस्तै, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले विगतमा गुमराहचोकमा भएका सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति बेहोर्नुपरेको स्मरण गराए । डिभाइडर स्थापनाले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा राख्दै उनले सडक सुरक्षा र ट्राफिक नियम पालनाका लागि निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने अभियान समेत सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रमको सहजीकरण पूर्ण केसीले गरेका थिए ।



लाइभदाङ । २३ आश्विन २०८३, शुक्रबार २१:५४ बजे