वडाबाटै राष्ट्रिय परिचयत्र वितरण सुरु

तुलसीपुर, २२ भदौ ।
राष्ट्रिय पञ्जिकरण विभागले स्थानीय पालिकाको व्यवस्थापनमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ । विभागले दाङ जिल्लाको घोराही उपमहानगरपालिकाका वडाहरुमा यस अघि नै परिचय पत्र निर्माणका लागि वडाबाटै अभियानकारुपमा सुरु गरेको हो भने बुधबारदेखि तुलसीपुरमा समेत सुरु गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १८ मा नगरप्रमुख टीकाराम खड्काले आफ्नो राष्ट्रिय परिचय पत्रको शुभारम्भ गर्नुभएको हो । तुलसीपुर उपमहानगरपालिकामा पहिलो चरणमा वडा नम्बर ५,६,७,९,१२ र १८ दोस्रो चरणमा ८,१०,११,३,४,१७ र १९ तेस्रो चरणमा १,२,१३,१४,१५ र १६ नम्बरका वडाहरुमा परिचय पत्र कार्यक्रम अभियानकारुपमा सुरु हुनेछ । एउटा वडामा १२ दिनसम्म टोलीले काम गर्ने जनाइएको छ ।


नगर प्रमुख खड्काले राष्ट्रिय परिचय पत्र कार्यक्रम अभियानकैरुपमा भएकाले नगरवासीहरुले वडामै पुगेर बनाउनका लागि आग्रह गर्नुभयो । पत्र बनाउनका लागि नागरिकता,विवाहितको हकमा विवाह दर्ता, बसाइसराई प्रमाण पत्रको सक्कलै प्रमाण आवश्यक पर्दछ ।