वन उद्यमको विकासमा जोड दिऔं: नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
लमही, २७ फागुन । लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले पर्या–पर्यटन तथा वन उद्यम विकासका कार्यक्रममा जोड दिन आग्रह गर्नु भएको छ । वन मानिसको दैनिक जीवनयापनसंग जोडिएको क्षेत्र भएकोले त्यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनु भयो । वनबाट जिविको पार्जनका थुप्रै कार्यक्रम गर्न सकिने नगर प्रमुख चौधरीको भनाई छ ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समुहको १७ औं वार्षिक साधारणसभामा बोल्दै नगर प्रमुख चौधरीले सामुदायिक वनहरुले थुप्रै कामहरु गर्न सक्ने भन्दै सामाजिक सशक्तीकरण, गरिबी न्यूनीकरणमा सहयोग, विकास निर्माणको काम, पर्या–पर्यटन तथा वन उद्यमको विकासका कामहरु गर्न सकिने बताउनु भयो । कामहरु गर्दै जाँदा स्पष्ट नीति, पारदर्शिता र जवाफदेहिता भने हुनु अनिवार्य रहेको साथै यी कुराहरुलाई अवलम्बन गरेमा सामुदायिक वन देशकै नमूना बन्न सक्छ’ नगरप्रमुख चौधरीले भन्नु भयो ।

नेपाल सरकारले सामुदायिक वन विकासको गुरुयोजनाले देखाएको बाटो अनुसार प्रत्यक्ष रूपमा स्थानीय जनताको सहभागिता हुने गरी सामुदायिक वन विकास कार्यक्रमलाई बढवा दिइरहेको छ । ति कार्यक्रममा उपभोक्ताको सहभागितालाई प्रमुखताका साथ राख्न सामुदायिक वन समूहलाई उहाँले आग्रह गर्नु भएको छ । राम्रो कामगर्दै जानुस तपाईहरुसंग लमही नगरपालिकाले सहकार्य गरेर अगाडी बढ्न तयार छ ।

त्यसैगरी लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले वनमा हुने चोरी शिकारी जस्ता गलत कामलाई रोक्न सबैले चासो दिनु पर्ने बताउनु भयो । यो सामुदायिक वनभित्र रहेको जैविक विविधतापार्क जहाँ राज्यको पनि लगानी रहेको छ, पछिल्लो समय यो जैविकपार्कले मानिसको मन जितेको छ, पार्क घुम्न आउनेदेखि लिएर टिकटक बनाउने रमाउनेको संख्यापनि दैनिकजसो बढ्ने गरेको छ, यो हामी सबैकालागि राम्रो कुरा हो र यो पार्कको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने मिडियाका साथीहरुलाई पनि म धन्यवाद दिन चाहान्छु’ नगर उपप्रमुख योगीले भन्नु भयो । अजम्मरी सामुदायिक वनलाई जगेर्ना गर्न संरक्षण, गर्न हामी सबै लागौं, असंख्य चराचुरुंगीको बासस्थान हुने जंगलमा गरिने आगजनी रोक्नु पर्छ । जैविकपार्क सामुदायिक वनको एउटा राम्रो आम्दानीको स्रोत बनेको छ । यसलाई सबै मिलेर राम्रो व्यवस्थापन गरौँ’ नगर उपप्रमुख योगीले भन्नु भयो ।

देउखुरी डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका प्रमुख राजु क्षेत्रीले वन क्षेत्र सुधार र सुदृढीकरणमा धेरै चुनौतिहरु रहेको बताउनु भयो । उचित संरक्षणको अभाव, तल्लो तटीय क्षेत्रमा परेको नकारात्मक प्रभाव, सक्रमणकालिन राजनैतिक परिवेशले गर्दा वन संरक्षणमा उदासीनता, कटानी, फडानी, चोरी निकासीको बृद्धि, भूकम्पीय प्रभाव पिडितहरुको आवश्यकतामा बैकल्पिक हुन नसक्नु, चुरे क्षेत्रको कमजोर माटो बनोट, अव्यवस्थित बसोबास, दोहन, वन अतिक्रमण र वन डढेलोको चाप बढ्दै गएको उहाँको भनाई छ ।


लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता एवम् लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका प्रमुख डिभिजनल वन अधिकृत राजु क्षेत्रीको विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य, ने.क.पा. एमाले लमहीनगर कमिटी अध्यक्ष डण्डीराम चौधरी, ने.क.पा.(माओवादीकेन्द्र) लमहीनगर कमिटी अध्यक्ष दिलकुमार श्रेष्ठले शुभकामना व्यक्त गर्नु भएको थियो।

राष्ट्रिय जनमोर्चा नेपाल लमहीनगर कमिटिका अध्यक्ष हरिबहादुर थापा, देउखुरी बहुमुखी क्याम्पसका अध्यक्ष लालविर खड्का, नर्ती समन्वय समिति लमहीका सचिव शुसिला शर्मा, लमही नगरस्तरीय वन महासंघका अध्यक्ष पूर्णबहादुर बस्नेत, रोटरी क्लव अफ लमहीका अध्यक्ष केशव घिमिरे, लमही रेडक्रस सोसाईटी उप–शाखा लमहीका उप–सभापति सतिश गौतम, लमही बजार टोल विकास संस्थाका सचिव शशिराम नेपाली, चप्परखोला प्रगतिशिल सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष सनम नेपाली, कर्री सामुदायिक वन उपभोक्ता समूहका कोषध्यक्ष श्यामसुङ्ग गिरी,लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवी श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका सचिव गोमा भण्डारी र सदस्य सुदन केसीले संयुक्त रुपमा गर्नु भएको थियो । कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका सचिव गोमा भण्डारी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष तेजबहादुर विकले प्रस्तुत गर्नु भएको थियो ।

लमही नगरपालिकाका प्रेस संयोजक गजमेर सहित सातजना सम्मानित
अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले लमही नगरपालिकाका प्रेस संयोजक प्रिया स्मृती गजमेर सहित सात जनालाई सम्मानित गरेको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले संचालन गर्दै आएको जैविक विविधता ग्रीनपार्ककालागि पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै वनको १७ औँ वार्षिक साधारणसभाबाट नगद सहित प्रमाणपत्रले समानित गरेको हो ।

यस्तै विभिन्न विधाबाट सहयोग पु¥याएको भन्दै नेपाल औषधी व्यवसायी संघ दाङका अध्यक्ष विष्णु प्रसाद पौडेल, गोरखा मोर्डन सेकेण्डरी स्कुलका उपाध्यक्ष डोरबहादुर जिसी, रोटरी क्लव अफ लमहीका अध्यक्ष केशव घिमिरे, ग्रीन फाउण्डेशन नेपाल कलष्टर परियोजनाका प्राविधिक मनिता खनाल, जैविक विविधता निर्माणमा सहयोग पुराएको तेजप्रसाद शर्मा, देउखुरी मोबाइल व्यवसायी संघ लमहीलाई लमही नगरपालिका नगर प्रमुखबाट दोसल्ला ओढाइ प्रमाणपत्र सहितले सम्मानित गरिएको हो ।