टरिगाउँ एयरपोर्ट : शंकर पोखरेल विकल्प खोज्न भनिरहदा,युवा संघ विस्तारमा पहल

दाङ,१९ साउन ।
दाङको तुलसीपुर-१२ स्थित टरिगाउँ एयरपोर्टका सन्दर्भमा बुधबार एमाले महासचिब शंकर पोखरेलले त्यसको विकल्पका बारेमा सोच्नु पर्ने भनिरहेका बेला एकीकृत समाजवादी निकट युवा संघ नेपाल, दाङले पनि विस्तारकालागि पहलमा थियो ।

संघका जिल्ला अध्यक्ष हरिष गिरीको नेतृत्वको टोलीले सस्कृत पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठलाई उक्त ज्ञापन पत्र बुझाए । ज्ञापन पत्रमा लामो समयदेखि टरिगाउँ एयरपोर्ट स्तरबृद्धि हुन नसकेको र एयरपोर्ट स्तरबृद्धि नहुँदा ठूलो जहाज बस्न नसकेको कुरा उल्लेख छ । यसमा मन्त्रीले ध्यानाकर्षण भएको जनाए ।

तर, यसरी संघले ज्ञापन पत्र बुझाउँदै गर्दा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका पोखरेलले भने तुलसीपुरमा पत्रकार सम्मेलनमा टरिगाउँ एयरपोर्टको विकल्प खोज्न हिच्किचाउन नहुँने बताए । यसले पनि टरिगाउँ एयरपोर्टलाई विस्तार भन्दा विकल्प खोज्न चहान्छन्, भन्ने कुरा प्रष्ट भएको छ । पोखरेलले काँग्रेसलाई दोषारोपन गर्दै त्यसमा टेकेर आफूले फाइदा लिन खोजेको देखिन्छ ।


‘एमालेको सरकार हुँदा एयरपोर्ट स्तरबृद्धि गर्ने प्रक्रिया अघि बढेको थियो’,उनले भने‘जब काँग्रेसको सरकार आयो, त्यतिबेला एयरपोर्ट नापजाँच गर्न प्राबिधिक ल्याईएको थियो, त्यतिबेला प्राबिधिकले यो एयरपोर्ट विस्तार गर्न मिल्दैन, भनेर भनेका छन् ।’ यदि यो रिपोर्ट सही हो भने यसको विकल्प खोज्नु पर्ने उनको तर्क छ । पोखरेलले नारायणपुरमा अन्तराष्ट्रिय स्तरको एयरपोर्ट बनाउनु पर्ने कुरालाई वकालत गर्दै आएका छन् । त्यसले गर्दा पनि टरिगाउँ एयरपोर्टलाई ओझेलमा पार्न खोजिएको भन्ने आशंक पहिलो देखि नै रहदै आएको छ ।

टरिगाउँ एयरपोर्ट नेपालकै पुरानो विमानस्थल मध्ये पर्छ । अहिले ७५० मिटर लामो र ३० मिटर चौडाई रहेको हाइवे छ । त्यसले गर्दा १६ सिटे टुइनेटर जहाज मात्रै अवतरण गर्ने गर्छ । त्यसले गर्दा यात्रुहरु १२ हजारसम्म भाडा तिर्नुपर्ने अबस्था छ । इन्धन डिपो निर्माण अन्तिम चरणमा भएकाले भाडामा केही सहज हुने अपेक्षा भने गरिएको छ । अहिले इन्धन डिपोको ल्याब लेस्टकालागि भारत पठाईएको छ । त्यसको रिपोर्ट आउन साथ डिपो सञ्चालनमा आउनेछ ।