अब हर्टअट्याक भएका विरामीलाई दाङमै उपचार

दीपक बोहरा
दाङ, १८ वैशाख ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा सुरू भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत डा. दिनेश उप्रेतिसहितको टोलीले शुक्रबार दुईजना बिरामीको एन्जियोप्लास्टि गरेको थियो । पहिलो पटक जिल्लामा यो सेवा सुरु भएसंगै हृदयघात(हर्टअट्याक) भएका विरामीहरुलाई जिल्लामै सहजै उपचार गर्न सकिने डा. देवकोटाले बताए । उनका अनुसार मुटुको रक्तनलीको उपचार दाङमा यसरी पहिलो पटक सुरु हुनु जिल्लाको स्वास्थ्य क्षेत्रकालागि एउटा उपलब्धी हो ।

यस अघि मुटुको उपचारकालागि जिल्ला बाहिर जानुपर्ने अबस्था रहेको थियो । अब भने यो समस्या हटेको प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए । उक्त उपचारकालागि १० करोड बराबरका सामग्री ल्याईएको छ । यसरी सामग्री तयारी गरेपछि पहिलो पटक बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर देवकोटालाई ल्याएर सेवालाई सुरुवात गरिएको उनको भनाई छ ।

प्रतिष्ठानबाट केही दिन अघि एन्जोयोग्राफी सेवा दिईएको थियो । जुन निदानात्मक उपचार थियो भने आज(शुक्रबार) एन्जियोप्लाष्टि सेवा सुरु गरिएको हो । जुन उपचारात्मक रहेको छ । दाङमै यो सेवा सुरु भएपछि जिल्ला बाहिरका विरामीलाई पनि सेवा दिन सहज हुने प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले बताए । उनका अनुसार विपन्न नागरिक औषधी उपचार कोषमा सूचिकृतकालागि निवेदन समेत पठाएकाले सूचिकृत हुने वित्तिकै विरामीलाई प्रतिष्ठानबाटै थप सहजता प्राप्त हुनेछ । हाल मुटुको उपचारकालागि एक लाख भन्दा बढि खर्च लाग्ने गरेको छ ।


जब हृदयघात भएको थाहा भयो…
रोल्पा थवाङ गाउँपालिका ५ निवासी ७५ बर्षीया धनजिता विकको मुटु दुख्ने, सास फेर्न गाह्रो हुने, पेट फुल्ने समस्या हुन्थ्यो । त्यसपछि उपचारकालागि परिवारले दाङका निजि अस्पतालहरुमा पु¥याए । तर, कुनै रोग पत्ता लागेन । जब गएको शुक्रबार प्रतिष्ठानमा मुटुको परीक्षण गरियो, त्यसपछि पत्ता लाग्यो धनजितालाई हृदयघात(हर्टअट्याक) भएको रहेछ ।

त्यसपछि उनलाई आज एन्जियोप्लाष्टि गरिएको थियो । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं.९ निवासी ७५ बर्षीय गंगाधर कडेँलको पनि मुटुमा समस्या थियो । उनलाई पनि हृदयघात भएको थियो । त्यो कुरा प्रतिष्ठानमा मुटु जाँच गराएपछि थाहा भए । उनीहरु दुबै जनाको एन्जियोप्लाष्टि गरिएको थियो । यो संगै अब नियमित एन्जियोप्लाष्टि हुने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. लम्सालले बताए ।