प्रतिष्ठानबाट निःशुल्क सेवा पाउदै लक्षित विरामी

तुलसीपुर, २ माघ ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित विरामीहरुले निःशुल्क उपचार पाउने गरेका छन् । प्रतिष्ठानका फोकल पर्सन दीपक केसीका अनुसार चालु आर्थिक बर्षको ६ महिनामा ८ सय ७४ विरामीले त्यस्तो सेवा लिएका छन् । केसीका अनुसार सामाजिक सेवा इकाईबाट गरीब १२४,अपाङ्ग २१, असहाय ८, महिला स्वास्थ्य स्वयंसेविका ६ तथा थुनुवा ४४ गरि २०३ जनाले सेवा लिएका छन् ।

त्यस्तै जेरियाट्रिक सेवा लिने जेष्ठ नागरिक ५ सय ४ जना रहेका छन् । जसमा ६० देखि ९२ बर्ष सम्मका महिला २७४ र पुरुष २३० रहेका छन् ।

त्यस्तै सिकलसेल एनिमियाको ११४ जनाले निःशुल्क औषधी खाइरहेका छन् । सिकलसेलका विरामीहरुलाई एक लाखसम्मको औषधी उपलब्ध गराउने नीति अनुरुप प्रतिष्ठानबाट ६१ जना महिला र ५३ जना पुरुषले निःशुल्क रुपमा औषधी पाइरहेका छन् ।

त्यस्तै ५३ जनाले डायोलाईसिस सेवा निःशुल्क लिइरहेका छन् । चालु आर्थिक बर्षको साउनसम्म केही विरामीलाई आंशिक मात्रै छुट दिने गरिएको भएपनि भदौदेखि भने पूर्ण रुपमा नै छुट दिने गरिएको केसीले बताउनुभयो । वडाको सिफारिशका आधारमा प्रतिष्ठानले जाँच बुझ गरेर निःशुल्क उपचारको ब्यबस्था गर्ने गरिएको उहाँको भनाई छ ।“गरीब,विपन्न, अशक्त, असहाय बर्गलाई निःशुल्क उपचार दिने प्रतिष्ठानको नीति हो”,उहाँले भन्नुभयो“त्यही अनुसार विरामीलाई सेवा दिने गरेका छौं ।”


मानसिक उपचार सेवा
प्रतिष्ठानमा मानसिक उपचारकालागि ‘एमइसिटी’ सेवा थपिएको छ । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार पहिले मानसिक रोगका बिरामीलाई करेन्ट लगाएर उपचार गरिन्थ्यो । तर, अब यो सेवा सुरु भएसंगै विरामीलाई दुखाइ नै नहुँने गरेर उपचार हुन्छ । सो उपचार विरामीलाई बेहोस बनाएर मानसिक रोग विशेषज्ञ, एनेस्थेसीयोलोजिष्टको निगरानीमा उपचार हुन्छ ।

मानसिक रोगीलाई उपचार गर्ने पद्धति औषधि र भौतिक उपचार पद्धति भएकाले पीडा नदिएर उपचार गर्ने विधिको थालनी गरिएको हो । प्रतिष्ठानमा मनोचिकित्सा सेवा २०७७ माघबाट शुरु भएको थियो । असोज ३० गतेदेखि प्रतिष्ठानमा १० बेडसहितको मनोचिकित्सा विभाग बनाएर उपचार थालिएको छ ।