हरेक नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउछौं : राज्यमन्त्री केसी

दाङ, २६ असार ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले हरेक नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने आफ्नो दायित्व भएको बताउनुभयो । रिपोर्टस् क्लब दाङले आईतबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले अझै सम्म पनि नागरिकले पाउने आधारभूत सेवा पनि सहज पाउन नसकेको भन्दै यसलाई सहज बनाउन पहल गर्ने बताउनुभयो । यसकालागि तीनै तहका सरकारहरुसंग छलफल गर्ने समेत बताउनुभयो ।

त्यस्तै राज्यमन्त्री केसीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सेवालाई थप विस्तार गर्ने समेत बताउनुभयो । उहाँले कोरोनाको समयमा योगदान गरेका कर्मचारीहरुको नविकरणमा पहल थाल्ने समेत बताउनुभयो । त्यसकालागि स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

सरकारले प्रत्येक पालिकामा १५ सैयाको अस्पताल बनाउने कुरा अघि सारेको अबस्थामा अझै पनि धेरै पालिकामा ति अस्पताल निर्माणको काम अघि बढ्न नसकेको भन्दै यसलाई पनि पूर्णता दिने प्रतिबद्धता जनाउनुभयो ।

क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीरण सन्तोष केसीले गरेका थिए।

प्रादेशिक अस्पतालको अनुगमन


राज्यमन्त्री केसीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अवलोकन समेत गर्नुभएको छ । त्यसय अवसरमा राप्ती प्रादेशिक अस्पताल प्रदेश स्तरीय भएकाले प्रदेशले त्यसलाई हेर्ने जिम्मा पाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हिराचन्द्र केसीले बताउनुभयो ।“अस्पतालको पनि जिम्मेवारी बाँडफाँट भएको छ, प्रतिस्ठान संघीय सरकार मातहत हुन्छ, यो अस्पताल प्रदेश सरकार मातहत छ, प्रदेश सरकारले पनि अस्पतालकालागि धेरै काम गरेको छ”,उहाँले भन्नुभयो“ संघीय सरकारको तर्फबाट हामीले जे–जे गर्नुपर्छ, त्यसमा प्रतिबद्ध भएर लाग्ने छौं ।”

त्यस अवसरमा अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले अस्पतालको जनशक्ति ब्यबस्थापनकालागि ओएमएन सर्वेको कार्य अघि बढाउन पहल थालिदिनकालागि अनुरोध गर्नुभयो“जनशक्ति ब्यबस्थापनकालागि ओएमएन सर्वे गर्ने काम दुई बर्षदेखि प्रक्रियामै छ, अहिले त्यो फाइल मुख्यमन्त्री कार्यालयमा पुगेको छ, भन्ने सुनिएको छ”,उहाँले भन्नुभयो“त्यो फाईल किन अघि बढ्न सकिरहेको छैन्, त्यो बुझ्न सकिएको छैन ।”

मुख्यमन्त्री कार्यालयबाट केन्द्रीय स्वास्थ्य मन्त्रालयदेखि अर्थमन्त्रालयसम्म पुग्नु पर्ने भएकाले प्रक्रिया अझै लामो रहेको भन्दै त्यो फाईल छिटो अगाडी बढाउनु पर्ने अध्यक्ष न्यौपानेको भनाई छ । यदि त्यो फाईल अघि नबढेमा अझै पनि प्रभाबकारी सेवा प्रदान गर्न समस्या हुने उहाँको भनाई छ ।

अहिले प्रादेशिक अस्पताल रेफर अस्पताल भनेर आलोचना गर्ने गरिएको भन्दै यसलाई सुधार गर्न दक्ष जनशक्ति आबश्यक पर्ने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले बताउनुभयो । अस्पतालको छुट्टै आम्दानी नभएकाले पनि आफैले कर्मचारी थप गर्न सक्ने अबस्था पनि नभएको उहाँको गुनासो थियो ।“अस्पतालमा एमआरआई बाहेक भिडियो एक्सरे, सिटि स्क्यान, एक्सरेजस्ता ठूला सेवाहरु सञ्चालनमा छन्, त्यसले गर्दा विरामीहरुको चाप बढिरहेको छ”,उहाँले भन्नुभयो“त्यो अनुसार अब जनशक्ति चाहिन्छ ।”