शुुद्ध तोरीको तेलकालागि तुलसीपुरमा खुल्यो केसी तेल मिल

तुलसीपुर, १९ साउन । शुद्ध तोरीको तेल उत्पादनकालागि दाङको तुलसीपुरमा केसी तेल मिल सञ्चालनमा आएको छ ।

तुलसीपुर ९ दोघरेमा ब्यबसायी रामचन्द्र केसीले उक्त तेल मिल सञ्चालनमा ल्याएका हुन् ।

करिब ५० लाखको लागतमा उक्त तेल मिल सञ्चालनमा ल्याएको केसीले बताए । उनका अनुसार शुद्ध तेल उत्पादन गर्ने उद्देश्यले मिल सञ्चालनमा ल्याईएको हो । स्थानीय स्तरमा उत्पादित तोरीबाट तेल उत्पादन गरिने केसीले बताए ।

तुलसीपुरको बजारमा मात्रै नभई बिभिन्न जिल्लामा तेल निर्यात गर्ने गरि योजना बनाएको उनको भनाई छ ।

साथै गहुँ,कोदो,फापर, मकैलगायतको आटा समेत तयार गर्ने उनको योजना रहेको छ । आफूले ल्याएको मिल अरु भन्दा सुद्ध र क्षमतावान रहेको समेत उनको दावी थियो । उक्त मिलले प्रतिघण्टा १२० किलो तोरीबाट तेल निकाल्न सक्छ । हाल दाङको बबई गाउँपालिका क्षेत्रमा उत्पादन भएको तोरीबाट तेल उत्पादन भइरहेको केसीले बताए ।


मिलको शनिबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसी, तुलसीपुर च्याम्बर अफ कमर्शका अध्यक्ष ऋषि भण्डारीलगायतले उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा गिरीले युवाहरु स्वदेशमै उत्पादनमा जोडिनुले यहाँको आर्थिक अबस्थालाई थप मजबुत बनाउने बताए ।

अहिले पनि बाहिरीदेशबाट तेल आयत गर्नुपर्ने अबस्था रहेको भन्दै त्यसलाई अन्त्य गर्नकालागि युवाहरुले स्वदेशमै उत्पादन गरि निर्यात समेत गर्न सक्नु पर्ने बताएका थिए ।