सल्यानको सामुदायिक वनमा लुकाइराखिएका पाँच नाल भरुवा बन्दुक बरामद

सल्यान, १८ कार्तिक ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ लेक सङ्ग्रहीस्थित सिम्टीगैरा सामुदायिक वनबाट प्रहरीले पाँच नाल भरुवा बन्दुक बरामद गरेको छ।

बुधबार बिहान करिब ८:५५ बजे इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा लुकाइराखिएका बन्दुक फेला पारेको हो।


प्रहरीका अनुसार बरामद गरिएका पाँच नाल भरुवा बन्दुकमध्ये तीन नाल साबुत र दुई नाल बेसाबुत अवस्थामा रहेका छन्।

वन क्षेत्रमा कसले र कुन प्रयोजनका लागि बन्दुक लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। बरामद भएका बन्दुकको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।