लमहीमा १७६ जनाको आँखा परीक्षण, १० जनाको मोतियाबिन्दुको शल्यक्रिया

देउखुरी, १८ कार्तिक ।
लमही नगरपालिका–३ फल्कापुरमा गत असोजमा सञ्चालन गरिएको आँखा परीक्षण शिविरमा १७६ जनाले सेवा लिएका छन् । शिविरमा १० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

लमही आँखा अस्पतालको आयोजना तथा लमही नगरपालिका वडा नम्बर ३ को समन्वयमा सञ्चालन गरिएको शिविरमा ६६ जना पुरुष र ११० जना महिलाले आँखा परीक्षण गराएका थिए । परीक्षणका क्रममा १५ जनामा मोतियाबिन्दु र ५ जनामा आँखामा मासु पलाउने समस्या (प्टेरिजियम) देखिएको लमही आँखा अस्पतालका प्रोफेसर डाक्टर प्रदीप बास्तोलाले जानकारी दिनुभयो ।

डाक्टर बास्तोलाका अनुसार समयमै आँखा परीक्षण गराउनु र आँखामा देखिने समस्याको पहिचान गरी उपचार गर्नु आँखाको ज्योति जोगाउन महत्त्वपूर्ण हुन्छ । उहाँले आँखामा सामान्य समस्या देखिए पनि बेवास्ता नगर्न र नियमित रूपमा आँखा परीक्षण गराउन आग्रह गर्नुभयो । शिविरमा १७ वर्षमुनिका ५ जना बालबालिकाले समेत आँखा परीक्षण गराएका थिए भने २८ जनालाई निःशुल्क पढ्ने चस्मा वितरण गरिएको थियो ।

लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले वडाबासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै लमही आँखा अस्पतालले शिविर सञ्चालन गर्नु सराहनीय कार्य भएको बताउनुभयो । उहाँले आँखाको स्वास्थ्य मानिसको दैनिक जीवन, अध्ययन, रोजगारी तथा सामाजिक गतिविधिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस्ता स्वास्थ्य शिविरले नागरिकलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने बताउनुभयो ।


वडा अध्यक्ष चौधरीले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी अस्पतालले वडामै सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि वडाबासीको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै अस्पतालसँग सहकार्य, समन्वय र सहयोगलाई निरन्तरता दिने अपेक्षा व्यक्त गर्नुभयो । साथै, नागरिकलाई समयमै स्वास्थ्य परीक्षण गराउन र उपलब्ध स्वास्थ्य सेवाको उपयोग गर्न आग्रह गर्नुभयो ।

त्यस्तै, वडा सदस्य सुमन कुमार अधिकारीले लमही आँखा अस्पतालले वडाबासीप्रति देखाएको सद्भाव र सेवाभावको प्रशंसा गर्नुभयो । उहाँले आँखाको समस्या पहिचान र उपचारका लागि अस्पतालसम्म पुग्न नसक्ने नागरिकलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउनु महत्त्वपूर्ण रहेको बताउनुभयो ।

वडा सदस्य अधिकारीले शिविरबाट धेरै नागरिक लाभान्वित भएको उल्लेख गर्दै अस्पतालको यस मानवीय तथा सामाजिक कार्यका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्ता जनमुखी स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न र वडाबासीको स्वास्थ्य सुरक्षामा निरन्तर सहयोग गर्न अस्पताललाई आग्रह गर्नुभयो ।