नेपाल संस्कृत विश्वविद्यालयको ७९औँ सभा सम्पन्न, १ अर्ब ५८ करोड ५० लाखको बजेट पारित

दाङ, १८ कार्तिक ।
नेपाल संस्कृत विश्वविद्यालयको ७९औँ विश्वविद्यालय सभा बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ५० लाख रुपैयाँको बजेट पारित गरेको छ।

विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बेलझुण्डीस्थित केन्द्रीय परिसरमा बसेको बैठकले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक शैक्षिक कार्यक्रम तथा आगामी आर्थिक वर्षको आय–व्यय विवरण स्वीकृत गरेको हो।

बैठकले कार्यकारी परिषद् तथा प्राज्ञिक परिषद्सम्बन्धी नियुक्तिका प्रस्तावसमेत पारित गरेको छ। त्यस्तै, विश्वविद्यालयको अतिक्रमित जग्गाको वास्तविक अवस्था र स्वामित्वसम्बन्धी विषय अध्ययन गर्न आधिकारिक समिति गठन गर्ने निर्णय गरेको छ। समितिले विश्वविद्यालयको जग्गाको स्वामित्व विश्वविद्यालयकै नाममा कायम गर्ने आधारसहित प्रतिवेदन तयार पार्नेछ।

यसैगरी, २०७७ सालदेखि दीक्षित हुन बाँकी रहेका विद्यार्थीलाई लक्षित गरी छैटौँ दीक्षान्त समारोह चालु आर्थिक वर्षभित्रै आयोजना गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।


सभाले राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने प्रस्तावलाई समेत स्वीकृति दिएको छ। विश्वविद्यालयअन्तर्गतको आयुर्वेद अध्ययन संस्थानमार्फत सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालन, स्वास्थ्य योजना निर्माण, जडीबुटी प्रशोधन तथा स्वास्थ्य र आहारविहारसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि बढाइएको छ।

बैठकले अन्तर्राष्ट्रिय योग सम्मेलन ‘ग्लोबल योग समिट २०२६/२७’ आयोजना गर्ने प्रस्तावसमेत पारित गरेको छ। आगामी २०८३ चैत महिनाको अन्तिम सातामा बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय परिसरमा सम्मेलन आयोजना गरिनेछ। सम्मेलनमा कम्तीमा ३० देशका योगसाधक, योगविज्ञ तथा सम्बन्धित विषयका विशेषज्ञ सहभागी हुने अपेक्षा गरिएको छ।

विश्वविद्यालयको शैक्षिक उन्नयन, संस्थागत सुदृढीकरण, सम्पत्ति संरक्षण तथा अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धि गर्ने उद्देश्यसहित सभाले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको विश्वविद्यालयले जनाएको छ।