अभिभावककै कारण बालबालिका श्रम गर्न बाध्य

तुलसीपुर, २९ जेठ ।

अभिभावकहरुकै कारण बालबालिकाहरु श्रम गर्न बाध्य रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले अभिभावकहरुले बालबालिकाका आधारभूत आवश्यकता पूरा नगर्ने र विद्यालयमा नपठाएकै कारण बालबालिकाहरु श्रम गर्न बाध्य रहेको बताए ।

विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा महिला बालबालिका तथा सामाजिक विकास शाखा र न्युसिपिसिको आयोजनामा बालश्रम न्यूनीकरण सरोकारवालाहरुको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता तथा नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि खडकाले प्रत्येक बालबालिकाहरुलाई शिक्षालयसंग जोडे बालश्रम अन्त्य हुने बताउनुभयो । उहाँले १२ देखि १८ वर्ष उमेरका बालबालिकाहरु कुलतमा फस्ने भएकाले ती उमेरका बालबालिकाहरुलाई अभिभावक,समुदाय,सरकार सबैले विशेष निगरानीमा राख्नुपर्ने बताउनुभयो ।


उपप्रमुख स्यानी चौधरीले १८ वर्षसम्मका प्रत्येक बालबालिकाहरुलाई शिक्षालयमा अनिवार्यरुपमा जोड्न सके बाल श्रमको अन्त्य हुने बताउनुभयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बालबालिकाहरुलाई अधिकारको साथमा समुदायले कर्तव्यबोध गराउनुपर्ने बताउनुभयो । कार्यक्रममा बालअधिकारकर्मी नवराज लामिछानेले तुलसीपुर क्षेत्रमा बालबालिकाहरु यातायात,निर्माण,उद्योग,बधशाला लगायतका क्षेत्रमा बाल श्रमिककारुपमा रहेको बताउनुभयो ।

बालबालिकाहरु बसाइसराई, कक्षामा अनुत्तीर्ण,गरिबीका कारण विद्यालय छाड्न बाध्य हुनुपरेको उहाँले बताउनुभयो ।तुलसीपुर उपमहानगरपालिकाका सबैभन्दा पहिले वडा नम्बर ६ बालश्रम मुक्त वडा घोषण गरिएको थियो । हालसम्म १,२ र ६ बालश्रम मुक्त घोषणा भएका छन् भने १८ र १७ बाँकी रहेका छन् । वडा नम्बर १८ घोषणाको अन्तिम तयारीमा रहेको छ । कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखाका प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।