लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेस र माओवादी आलोपालो

बुटवल
२७ साउन / लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको राजीनामासँगै नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनको तयारी गरेको छ । जसमा मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने निर्णय भएको छ ।

मुख्यमन्त्रीमा माओवादी केन्द्र र कांग्रेसले आलोपालो गर्ने, जनता समाजवादीलाई सरकारमा सहभागी बनाउने र राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गर्ने निर्णय भएको माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिए । सुरुवातमा माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री बन्नेछन् । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेलगत्तै संविधानको धारा १६८ को उपधारा २ बमोजिम केसीको नेतृत्वमा सरकार गठनका लागि जान गठबन्धनको तयारी छ ।


फागुन ३ गते प्रदेशसभा दिवस र जनयुद्ध दिवस मनाएपछि उनले मुख्यमन्त्रीबाट राजीनामा दिनेछन् । उनको सट्टा कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडिया मुख्यमन्त्री बन्नेछन् । मुख्यमन्त्रीसँगै मन्त्रीहरु पनि परिवर्तन गरिने छ । गठबन्धनमा सबै दललाई अपनत्व महसुस गराउन मुख्यमन्त्रीमा आलोपालो नेतृत्वको निर्णय भएको कांग्रेस संसदीय दलका नेता कानोडियाले बताए ।