दाङमा श्रीमानको मृत्यु भएको ९ बर्षपछि अदालतमा मुद्दा दर्ता

दाङ, ०७ असोज ।
दाङ बबई गाउँपालिका वडा नं.७ निवासी नगरबहादुर डाँगीको मृत्यु भएको ९ बर्षपछि कर्तब्य ज्यान मुद्दा दर्ता भएको छ । श्रीमति खुमा डाँगीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत दाङमा कर्तब्य ज्यान मुद्दा दायर गरेकी हुन् ।

कर्तब्य ज्यान गरि मारेको भन्दै सोमबार दुई जना विरुद्ध मुद्दा दायर भएको सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिबक्ता कमल प्रसाद कोइरालाले बताउनुभयो ।

हत्या अभियोगमा शान्तिनगर गाउँपालिका–७ गैरा तिलवारीका ३८ वर्षीय नबिन चौधरी र बबई गाउँपालिका–७ का ३९ वर्षीय जनक वलीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको हो । आरोपीमध्ये नबिन चौधरी पक्राउ परिसकेका छन्, भने अर्का आरोपी जनक वली फरार रहेका छन् ।


के थियो घटना ?
अभियोगपत्र अनुसार २०७४ साल माघ २ गते माघी पर्व मनाउने क्रममा आरोपी जनक वलीले मृतक नर बहादुर डाँगीलाई नबिन चौधरीको घरमा मदिरा खान लिएर गएका थिए ।

साँझसम्म श्रीमान घर नफर्किएपछि श्रीमती खुमा डाँगीले खोजतलास गर्ने क्रममा शान्तिनगर–७ स्थित तिलवारी नर्सरी नजिकै झाडीमा नर बहादुर अचेत अवस्थामा फेला परेका थिए । फेला पर्दा मृतकको शरीरमा ज्याकेट मात्र रहेको, भित्री टिसर्ट र भेष्ट खोलिएको तथा छेउको बाँसको किल्लामा भेष्ट झुण्ड्याइएको अवस्थामा भेटिएको थियो ।

अचेत अवस्थामा फेला परेका डाँगीलाई तत्कालै स्थानीय मेडिकल हुँदै तत्कालिन राप्ती अञ्चल अस्पताल तुलसीपुर पु¥याइएकोमा सोही राति ९ बजेतिर उपचारको क्रममा मृत्यु भएको थियो ।