
प्रिया स्मृती गजमेर
देउखुरी, १९ कार्तिक ।
लमही नगरपालिका–३ वनगाउँस्थित बाघधैला सोतामा पुल निर्माण भएपछि स्थानीयको आवागमन सहज बनेको छ । कुनै समय वर्षायाममा सोता तर्न निकै कठिन हुने र स्थानीयले सास्ती खेप्नुपर्ने अवस्था रहे पनि अहिले पुल निर्माणसँगै दैनिक आवतजावतमा सहजता आएको छ । पुलले स्थानीयको आवागमनलाई सहज बनाउनुका साथै सोता आसपासका जग्गा कटान नियन्त्रणमा समेत सहयोग पुर्याएको स्थानीयले बताएका छन् ।
लमहीको वनगाउँ चोकबाट करिब पाँच सय मिटर उत्तरतर्फ पुग्दा बाघधैला सोता भेटिन्छ । यो सोता कुनै समय स्थानीयका लागि ठूलो समस्याका रूपमा रहेको थियो । उत्तर वनगाउँबाट वनजंगल जाने, वल्लो गाउँबाट पल्लो गाउँ आवतजावत गर्ने तथा विद्यार्थीलाई विद्यालय आउजाउ गर्न निकै कठिन हुने गरेको थियो । विशेषगरी वर्षायाममा सोतामा पानीको बहाव बढ्दा स्थानीयले जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था थियो ।
बाघधैला सोताको बाटो हुँदै नारायणपुर, सोरठी र रातामाटाको बाटो भएर उपल्लो दाङको साविक रामपुर गाविसका केही बस्तीमा पुग्न सकिन्छ । यस मार्गबाट विभिन्न गाउँबस्ती जोडिने भएकाले स्थानीयका लागि यो बाटो निकै महत्वपूर्ण मानिन्छ । केही वर्ष अघिसम्म सोतामा पुल नहुँदा वर्षायाममा आवागमन प्रभावित हुने गरेको थियो । कुनै बेला गाउँघरमा रातबिरात मानिस बिरामी पर्दा एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था रहेको स्थानीयको भनाइ छ । आपत्कालीन अवस्थामा बिरामीलाई अस्पताल पुर्याउनसमेत निकै कठिन हुने गरेको थियो ।
स्थानीय सरकारको पहलमा पुल निर्माण
२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि गठन भएको लमही नगरपालिकाको स्थानीय सरकारले बाघधैला सोतामा पुल निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आर्थिक वर्ष २०७९र८० मा पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । बजेट विनियोजन भएलगत्तै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी र लमही नगरपालिका–३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले संयुक्त रूपमा पुलको शिलान्यास गर्नुभएको थियो । नगरपालिकाको बजेटबाट निर्माण सम्पन्न भएको पुलले स्थानीयको लामो समयदेखिको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । वडा नम्बर ३ मा निर्माण भएको बाघधैला सोताको पुलकै आकार र बजेटमा लमही नगरपालिका–४ मा समेत अर्को पुल निर्माण गरिएको छ । यसले नगरपालिकाका विभिन्न वडामा सडक तथा पुल पूर्वाधार विस्तार गर्ने योजनालाई अघि बढाएको देखिन्छ ।
आवागमनसँगै जग्गा कटान नियन्त्रण
बाघधैला सोतामा पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको उत्तर वनगाउँका स्थानीय बुद्धिजीवी शेरबहादुर डाँगी बताउनुहुन्छ । उहाँका अनुसार पुल नहुँदा स्थानीयले लामो समयदेखि समस्या भोग्दै आएका थिए। अहिले पुल निर्माण भएपछि विद्यार्थी, किसान, स्थानीय बासिन्दा तथा अन्य यात्रुलाई आवतजावत गर्न सहज भएको छ ।
पुल निर्माणसँगै सोता आसपासका जग्गा कटान नियन्त्रणमा समेत सहयोग पुगेको स्थानीयको भनाइ छ । वर्षायाममा सोताको पानीले आसपासका जग्गामा क्षति पुर्याउने गरेकोमा अहिले पुल निर्माणपछि त्यस क्षेत्रमा केही राहत मिलेको उनीहरू बताउँछन् । स्थानीयका अनुसार पुलले केवल दुई किनार जोड्ने काम मात्र गरेको छैन, यसले गाउँबस्तीबीचको सम्बन्धलाई थप सहज बनाएको छ । दैनिक कामकाज, विद्यालय आवतजावत, कृषि उपज ओसारपसार तथा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउने कार्यमा समेत पुल उपयोगी बनेको छ ।
वडामा विकास निर्माणका काम निरन्तर
लमही नगरपालिका–३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले वडामा विकास निर्माणका विभिन्न कामहरू भइरहेको बताउनुभएको छ । उहाँका अनुसार वडामा हरेक वर्ष लाखौँ रुपैयाँ बजेट विनियोजन भएर आउने गरेको छ । उक्त बजेट स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न योजनामा बाँडफाँट गरिँदै आएको छ ।
वडा अध्यक्ष चौधरीले विकास निर्माणका कामबारे आलोचना गर्दा विकल्पसहित सुझाव दिन आग्रह गर्नुभएको छ । विकासका काम केही भएका छैनन् भनेर विरोध गर्नुभन्दा आवश्यकताअनुसारका सुझाव र विकल्प प्रस्तुत गरेमा सोहीअनुसार काम गर्न सहज हुने उहाँको भनाइ
छ । हरेक वर्ष लाखौँ रुपैयाँ वडामा विनियोजन भएर आउँछ । आवश्यकताका आधारमा बजेट बाँडफाँट गरिन्छू उहाँले भन्नुभयो । वडा अध्यक्ष चौधरीका अनुसार वडाका विभिन्न स्थानमा सडक ग्राभेल, पक्की नाली निर्माण तथा भित्री सडक कालोपत्रे गर्ने काम सम्पन्न भएका छन् ।
कतिपय स्थानमा सडक स्तरोन्नति गरिएको छ भने अन्य आवश्यक पूर्वाधार निर्माणका कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको उहाँले बताउनुभयो । वडामा उपलब्ध सीमित बजेटलाई स्थानीयको आवश्यकताअनुसार परिचालन गर्दै विकास निर्माणका कामलाई निरन्तरता दिइएको वडा अध्यक्ष चौधरीको भनाइ छ ।
बाघधैला सोतामा पुल निर्माण हुनु लमही नगरपालिका–३ को पूर्वाधार विकासको एउटा महत्वपूर्ण उपलब्धि बनेको छ । लामो समयदेखि स्थानीयले भोग्दै आएको आवागमनको समस्या समाधान हुनु, आपत्कालीन अवस्थामा सहज पहुँच स्थापित हुनु र जग्गा कटान नियन्त्रणमा सहयोग पुग्नु यस पुलका प्रमुख उपलब्धि हुन् । पुल निर्माणसँगै स्थानीयको दैनिक जीवनयापन सहज बनेको छ भने गाउँबस्तीबीचको सम्पर्क र सम्बन्धसमेत थप मजबुत बनेको छ ।



लाइभदाङ । २० कार्तिक २०८३, बिहीबार ०८:०७ बजे