दाङमा अटोसंग ठोक्किएर सडकमा लडेका मोटरसाइकल चालकलाई पिकअपले किच्दा मृत्यु

तुलसीपुर, १८ कार्तिक ।
दाङको तुलसीपुर-हापुरे सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २, डाँडाचिसमा भएको सवारी दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा बबई गाउँपालिका वडा नम्बर ६, पञ्चकुले निवासी ५८ वर्षीय हेमबहादुर डाँगी रहेका छन्। बुधबार साँझ साढे ६ बजेतिर सडक छेउमा रोकिराखेको रा १ ह ३८७९ नम्बरको अटोमा सोही दिशातर्फ जाँदै गरेको रा ६ प ५७८७ नम्बरको मोटरसाइकल ठोक्किएर उनी सडकमा लड्न पुगे। सोही क्रममा पश्चिमतर्फबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ च ६१३ नम्बरको पिकअप गाडीले उनलाई किच्दा मोटरसाइकल चालक डाँगीको घटनास्थलमै मृत्यु भएको हो।


दुर्घटनापछि मृतकको शवलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा राखिएको छ। अटो, अटो चालक, पिकअप गाडी र पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। अहिले प्रहरी टोली र पीडित पक्षबीच छलफल भइरहेको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।