अन्तर्राष्ट्रिय बालचित्रकला प्रतियोगितामा राप्तीका रामलाई एसिया–प्रशान्त क्षेत्रीय पुरस्कार

तुल बहादुर कवँर मगर
दाङ, १८ कार्तिक ।
दाङको राप्ती गाउँपालिकाका एक विद्यार्थीले अन्तर्राष्ट्रिय बालचित्रकला प्रतियोगितामा एसिया तथा प्रशान्त क्षेत्रीय पुरस्कार प्राप्त गरेका छन्।

राप्ती गाउँपालिका–२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत राम मरसाङ्गी मगरले संयुक्त राष्ट्रसंघीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट) ले आयोजना गरेको अन्तर्राष्ट्रिय बालचित्रकला प्रतियोगितामा उक्त पुरस्कार प्राप्त गरेका हुन्।

सन् २०२६ को विश्व आवास दिवसका अवसरमा ‘हरित सहर तथा समुदाय’ विषयमा आयोजित प्रतियोगितामा विभिन्न ६ देशबाट ३ सय ५३ वटा आवेदन प्राप्त भएका थिए। तीमध्ये उत्कृष्ट चित्रकलाका आधारमा मगरलाई एसिया तथा प्रशान्त क्षेत्रीय पुरस्कारका लागि छनोट गरिएको आयोजकले जनाएको छ।


विद्यालयका प्रधानाध्यापक खेतुलाल पौडेलले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा पुरस्कार प्राप्त गर्नु विद्यालय परिवारका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले रामको प्रतिभा र मेहनतले विद्यालयको पहिचान अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन सहयोग गरेको उल्लेख गर्दै उनको सिर्जनात्मक क्षमतालाई थप प्रोत्साहन र अवसर प्रदान गर्नुपर्ने बताउनुभयो।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा क्षेत्रीय पुरस्कार प्राप्त गर्नु विद्यालय, राप्ती गाउँपालिका र समग्र दाङ जिल्लाकै लागि गौरवको विषय बनेको छ।

रामको यस उपलब्धिले स्थानीयस्तरमा रहेका बालबालिकाको सिर्जनात्मक तथा कलात्मक प्रतिभालाई उचित अवसर र प्रोत्साहन दिन सके अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन सकिने सम्भावनासमेत उजागर गरेको छ।