
दीपक बोहरा
तुलसीपुर, १८ कात्तिक ।
दाङ स्थित नापी कार्यालय तुलसीपुरले एक बर्षमा ४८ लाख बढि राजश्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी प्रेम बहादुर खड्काका अनुसार गएको आर्थिक बर्ष २०८२/०८३ मा ४८ लाख सात हजार चारसय ६५ राजस्व संकलन भएको छ ।
जसमा नक्सा बिक्रीबाट २२ लाख २९ हजार चारसय ७५, फिल्ड रेखाङ्कन तथा कित्ता एकीकरण सेवाबाट २४ लाख ८४ हजार दुईसय ६५ र अन्य प्रशासनिक सेवा शूल्कबापत ९३ हजार सातसय २५ असुली भएको छ।
कार्यालयले फिल्ड किताब उतारतर्फ एक हजार एकसय ७३ वटा निवेदन मध्ये शतप्रतिशत तामेली भएको छ भने क्षेत्रफल जाँचतर्फ ५४ वटै निवेदनको काम भएको सूचना अधिकारी खड्काले बताउनुभयो ।
त्यसैगरी, नक्सा प्रिन्टतर्फ साधारण निवेदन मार्फत २२ हजार ३५ वटा र ‘मेरो कित्ता’ प्रणाली मार्फत दुईसय २७ वटा काम भएका छन् । सूचना अधिकारी खड्काका अनुसार फिल्ड रेखाङ्कनका दुईसय ५९ निवेदनमध्ये दुईसय ३८ वटाको काम तामेली भएका छन्, भने २१ वटा बाँकी रहेका छन् ।
त्यस्तै कित्ता एकीकरणका एकसय २३ वटै निवेदनको शतप्रतिशत काम सम्पादन भएको छ । जग्गा कित्ताकाट सेवातर्फ अधिकांशको काम फछ्र्यौट भएको छ । राजीनामातर्फ प्राप्त तीन हजार तीनसय ६५ लिखतमध्ये तीन हजार तीनसय ५७ वटाको कित्ताकाट तामेली भई ८ वटा मात्र बाँकी रहेका छन् । त्यस्तै अंशबण्डातर्फ पाँचसय ४३ लिखतमध्ये पाँचसय ४० वटा, अदालत फैसलातर्फ ५६ लिखतमध्ये ५४ वटा र हालको बकसपत्रतर्फ चारसय १८ लिखतमध्ये चारसय १६ वटाको काम तामेली भएका छन् ।
कार्यालयले राजश्व अनलाईन प्रणालीबाट लिने गरिएको छ, भने बैंक तथा वित्तिय संस्थालाई आबश्यक नक्सा अनलाइन मार्फत नै उपलब्ध गराउने गरिएको छ ।



लाइभदाङ । १९ कार्तिक २०८३, बुधबार १६:२३ बजे