दाङमा राति १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने

दाङ, १८ कार्तिक ।
दाङमा यस वर्षको तिहारमा राति १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रम बेलुकी १० बजेसम्म मात्रै सञ्चालन गर्न आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै देउसी–भैलो कार्यक्रम मर्यादित, अनुशासित र व्यवस्थित ढंगले सञ्चालन गर्न अनुरोध गरेको छ ।

सामाजिक सद्भावमा असर नपर्ने गरी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै प्रशासनले राति १० बजेपछि यस्ता कार्यक्रम नगर्न भनेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा जारी सूचनामा चाडपर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गरी सुरक्षित र शान्तिपूर्ण वातावरणमा पर्व मनाउन जिल्लावासीलाई आग्रह गरिएको छ ।


प्रशासनले पटका, आतिसबाजीजस्ता प्रज्वलनशील तथा विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न पनि अनुरोध गरेको छ । त्यस्तै, जुवातास, सट्टेबाजी, कालोबजारी, कृत्रिम अभाव सिर्जना तथा म्याद नाघेका वस्तुको बिक्री वितरण नगर्न सचेत गराइएको छ ।

यसैगरी, मादक तथा लागू पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला र झैझगडा नगर्न, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न र ट्राफिक नियम पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

कुनै अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको १०० नम्बरमा खबर गर्नसमेत प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ । सार्वजनिक हित विपरीतका गतिविधि गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।