दाङमा ३१ जना कैदीबन्दी कारागार मुक्त

तुलसीपुर, १५ जेठ ।

गणतन्त्र दिवसको अवसरमा दाङका दुई कारागारबाट ३१ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ । कारागार घोराही र कारागार तुलसीपुरबाट ३१ जना कैदबन्दीको बाँकी कैद मिनाह गरिएको हो । कारागार घोराहीमा ४०/५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका १० जनाको नाम सिफारिस भएकोमा ९ जनाको स्वीकृत भए अनुसार उनीहरुलाई कारागार मुक्त गरिएको जेलर बासुदेव खनालले जानकारी दिनुभयो । जसमा दुई जना भारतीय नागरिक रहेका छन् ।


जेलर खनालका अनुसार कर्तव्य ज्यानका ५ जना, डाँका चोरी तथा नकवजनीका १ जना, सवारी ज्यानका १ जना र हातहतियार खरखजना सम्बन्धी २ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको हो ।कारागारमा अब ३०० जना कैदीबन्दी रहेका जेलर खनालले जानकारी दिनुभयो । यस्तै कारागार कार्यालय तुलसीपुरबाट २२ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ । जसमा ४० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका ८ र ५० प्रतिशत कैद भुक्तान पुरा गरेका र असल चालचलन भएका १४ जना कारागार मुक्त भएका छन् ।

जेलर अम्मर वलीका अनुसार कर्तव्य ज्यानका ७ जना, डाँका चोरीका ३ जना, गौबधका ३ जना, सवारी ज्यानका ३ पुरुष, ज्यान मार्ने उद्योगका ४ जना र डाँका चोरी तथा नकवजनी चोरी २ जनाको बाँकी कैद मिनाह भएको हो । तुलसीपुरमा अब ५ सय ५० जना कैदीबन्दी रहेको जेलर वलीले जानकारी दिनुभयो । सरकारले हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा मापदण्डको आधारमा कैदीबन्दीहरुको बाँकी कैद सजायमा आम माफी दिदै आएको छ ।