जिल्ला प्रशासन कार्यालय काठमाडौंले तत्काल राहदानी र राष्ट्रिय परिचयपत्र सेवा नदिने

काठमाडौं, ६ असोज ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तत्काल राहदानी र राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी सेवा नदिने भएको छ। गत भदौ २४ गते जेनजी समूहको प्रदर्शनीका क्रममा आगजनी गरेपछि कार्यालयको अधिकांश संरचना तथा अभिलेखहरू जली नष्ट भएकाले उक्त सेवा प्रवाह नहुने भएको हो।

सेवालाई पूर्ववत रूपमा सञ्चालन गर्न कार्यालयको तर्फबाट अधिकतम प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताए।


कार्यालयले सोमबार विज्ञप्ति जारी गरेर कार्यालयबाट पूर्ववत रुपमा सेवा सञ्चालन नहुँदासम्मका लागि अत्यावश्यक परेको अवस्थामा सम्बन्धित कार्यालयबाट सेवा लिन आग्रह गरेको हो।

अब राष्ट्रिय परिचयपत्र सम्बन्धी अत्यावश्यक सेवाको लागि नारायणहिटी दरबारमा रहेको सेवा इकाई र राहदानी सम्बन्धी अत्यावश्यक सेवाको लागि राहदानी विभाग, त्रिपुरेश्वरबाट सेवा लिनुपर्ने भएको छ।