शान्ति समाजले देशभरवाट १५ जना स्रष्टाहरुलाई सम्मान गर्दै

अमृत काजी शर्मा
दाङ, १७ भदौ ।
मानव अधिकार तथा शान्ति समाजले १५ जना स्रष्टाहरुलाई सम्मानित गर्ने निर्णय गरेको छ । समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारद्वारा १५ जना स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेको हो । यस बर्ष को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली (धनुषा) लाई प्रदान गर्ने निर्णय गरिएको समाजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रेस स्वतन्त्रता सेनानी, लोकतन्त्र र स्वतन्त्रताका पक्षमा विशिष्ट योगदान गरेका राजेश्वर नेपालीको २०८० भदौ ११ गते निधन भएको थियो । सो भन्दा अगावै शान्ति समाजले उनलाई २०८० को स्रष्टा सम्मानबाट पुरस्कृत गर्ने प्रक्रिया अघि बढाइसकेको थियो । यसैगरी प्रा.डा. राजेन्द्र विमल (जनकपुर)लाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रदान गरिने समाजले जनाएको छ ।

त्यस्तै डा।रामप्रसाद ज्ञवाली (गुल्मी) लाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, सुलोचना मानन्धर (काठमाण्डौ) लाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, डा.कृष्णराज चौधरी सर्वहारी (दाङ) लाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान, प्रा.डा. सावित्री कक्षपती (पाल्पा) लाई पवित्रादेवी चौलागाई मानवअधिकार स्रष्टा सम्मान प्रदान गर्ने निर्णय भएको समाजले जनाएको छ । प्रा.नवराज पाण्डेय (अर्घाखाँची) लाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, सौगात मुकुन्द आचार्य (मकवानपुर) लाई जोगमाया बराल स्रष्टा सम्मान प्रदान गर्ने निर्णय भएको सो संस्थाले जनाएको छ ।


त्यसैगरी भूमिप्रसाद बराल स्रष्टा सौगात बाजुराम पौडेल (काठमाण्डौ), जनककुमारी रेग्मी स्रष्टा सौगात कमलादेवी हेमचुरी (ललितपुर), श्रीप्रसाद दाहाल स्रष्टा सौगात लीला राना (स्याङ्जा), राधादेवी दाहाल स्रष्टा सौगात मधुराज केरुङ (पाँचथर), श्रीनारायण दाहाल स्रष्टा सौगात मधु शाही बस्नेत (हुम्ला), पद्यप्रसाद दाहाल स्रष्टा सौगात हंसावती कुर्मी (कपिलवस्तु) र गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात मधु हमाल ‘बालकुमारी’ (कञ्चनपुर)लाई प्रदान गर्ने निर्णय गरिएको समाजले जनाएका छ ।

पुरस्कृत हुनेहरुमा ७ जना महिला स्रष्टा रहेका छन् भने ७ वटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरुले मानवअधिकार, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, संस्कृत, नेवारी, थारु, अवधी, मगर, र लिम्बु गरी ८ भाषामा विशेष योगदान गरेको जनाइएको छ ।

महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तिको सेरोफेरोमा (२०८० कार्तिक अन्तिम साता) कार्यक्रम आयोजना गरि रु.२० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको सो संस्थाले जनाएको छ । स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजले स्रष्टाहरुलाई पुरस्कृत गर्न थालेको यो चौथो वर्ष हो ।