जनप्रतिनिधी र कर्मचारीका विच समन्वय र हातेमालो हुनुपर्नेमा जोड

सल्यान, ९ जेठ ।

कपुरकोट गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षले विषयगत शाखाका कर्मचारीसंग छलफल गरेका छन् । सोमबार भएको छलफलमा गाउँपालिकामा बसोबास गर्ने नागरिकले सेवा सुविधा र विकासका लाभको अनुभुती गर्नेगरी जनप्रतिनिधी र कर्मचारीका विच समन्वय र हातेमालो हुनुपर्नेमा जोड दिइएको थियो ।

छलफलमा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले साझा प्रयासबाट अघि बढ्नुपर्नेमा जोड दिदै कार्ययोजना बनाएर जिम्मेवार पूर्वक काम गर्न कर्मचारीहरुलाई आग्रह गरे । उनले गाउँपालिकामा वाह्य लगानी भित्राउनका लागि आफु लागि पर्ने जनाउदै लैंगिक उत्तरदायी बजेट निर्माण गरेर अघि बढ्ने बताए ।


यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले नयाँ उत्साह र उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई आग्रह गरे । उनले विषयगत शाखाहरुलाई क्षमतावान बनाउने, कर्मचारी क्षमता बृद्धि गर्ने र योजना अनुगमनको प्रभावकारीता बृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकतामा राखिएको बताए ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जनप्रतिनिधि र कर्मचारीको अन्योन्याश्रित सम्बन्धबाट सेवा प्रवाह र जनचाहना बमोजिमको कार्यसम्पादन हुनेमा विश्वास ब्यक्त गरे । यसका लागि कर्मचारीको तर्फबाट जनप्रतिनिधीलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै उनले कर्मचारीको हितका निम्ती लागिपर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाका विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुले आआफ्नो शाखाको क्रियाकलाप र प्रगति विवरण पनि प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण अधिकृत सातौं मोहन खड्काले गरेका थिए ।