राप्तीको ४ नम्बर वडा कार्यालय पुराना इनार तथा कुवा संरक्षणमा जुट्दै

तुल बहादुर कवँर मगर
देउखुरी, २८ बैशाख ।
राप्ती गाउँपालिका वडा नं.४ खिनैटा निवासी सुन्दरकली चौधरी ७२ वर्षकी हुनु भयो । उहाँले जन्मे देखि जीवनको उत्तरार्धसम्म गाउँमै रहेको इनारको पानी पिउदै आउनुभयो ।

तर पछि आधुनिक समाजको विकाससँगै गाउँका अधिकांश घरहरुमा चापाकल र धाराको प्रयोग बढ्दै गयो । पिउनको लागि इनारको पानी कम प्रयोग हुन थाल्यो र त्यसको संरक्षणमा समेत स्थानीयको ध्यान जान छोड्यो । सयौं वर्षौं अघि बनाइएका ती इनार तथा कुवाहरु विस्तारै जीर्ण हुँदै गई लोप हुने अवस्थामा पुग्यो । त्यसैले त्यस्ता इनार तथा कुवा संरक्षण गर्न राप्ती गाउँपालिकाको ४ नम्बर वडा कार्यालय जुटेको छ।

वडाले आर्थिक वर्ष २०८०/८१ मा करिब २ लाख रुपैयाँ बजेट विनियोजन गरि खिनैटा र जनकपुर गाउँमा रहेका २ वटा पुराना इनार तथा कुवा मर्मत तथा संरक्षण गरेको राप्ती गाउँपालिका वडा नं.४ का वडाअध्यक्ष वीर बहादुर चौधरीले जानकारी दिनुभयो।


‘सैयौं वर्षदेखि इनारको पानी खाइरहेको अवस्था हो । अहिले आधुनिक रुपमा आइसकेपछि धारा वितरण गर्न थालियो । पुराना इनारहरु नासिदै जान थाले । हामीले हाम्रो कला संस्कृति, सम्पदा पुस्तान्तरण गर्ने पनि भनिरहेका छौं । त्यसैको एउटा रुप यो पनि हो’  वडाध्यक्ष चौधरीले भन्नुभयो ‘वडा नं. ४ मा मात्रै १३ वटा गाउँ छन् । हरेक गाउँमा एउटा/दुईवटा इनार अनिवार्य थिए । अहिले ती इनारहरु पुरिन थाले । अब हामीले यी सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने मान्यता राखेका छौं।’

उहाँका अनुसार अहिले उक्त इनार तथा कुवाहरुमा ट्रष्ट निर्माण गरि टिन तथा तार जाली लगाई संरक्षण गरिएको छ। ईनार तथा कुवाको मर्मत तथा संरक्षण गरिए पछि स्थानीयले पुन विभिन्न घरायसी काममा पानीको प्रयोग गर्न थालेका छन्।