बुटवल
२७ साउन / विपक्षी गठबन्धन दलहरूले मुख्यमन्त्री शंकर पोखरेलको सरकारविरुद्ध तेस्रोपटक दर्ता गरेको अविश्वास प्रस्ताव लुम्बिनी प्रदेश सभामा आज टेबल हुँदै छ । पटकपटक दर्ता गराए पनि टेबल हुन नसकेको अविश्वास प्रस्ताव लुम्बिनीमा प्रदेश प्रमुख परिवर्तन भएसँगै बुधबार टेबल हुन लागेको हो । चार महिनायता विपक्षी गठबन्धनमा रहेका दलहरूले मुख्यमन्त्री पोखरेलको सरकार अल्पमतमा रहेको दाबी गर्दै आएका छन् ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार प्रदेश प्रमुखले आह्वान गरेअनुसार अधिवेशनको तयारी सकेको जानकारी दिए । कार्यसूचीअन्तर्गत बैठकमा विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्ताव टेबल हुनेछ र प्रक्रियामा अघि बढ्नेछ । हाम्रो तयारी गरेका छौँ, बाँकी नियमावलीअनुसार प्रदेश सभाका आवश्यक कामकारबाही अगाडि बढाउँछौँ ।
लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले विपक्षी गठबन्धनको समावेदनपछि आह्वान गरेको प्रदेश सभाको विशेष अधिवेशन रोक्न सत्तारुढ दल एमाले अदालत पुगे पनि मुद्दालाई मंगलबार हेर्न नभ्याइनेमा राखिएको छ । यससँगै बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको विशेष अधिवेशन बैठक बस्ने र उक्त बैठकमा विपक्षी गठबन्धन दलहरूले दर्ता गरेको अविश्वास प्रस्ताव टेबल हुने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले बताए ।
यस्तै, संसद्मा स्पष्ट अल्पमतमा रहेको सत्तागठबन्धनले बुधबार बिहान संसदीय दलको बैठक बोलाएको छ । सोही बैठकले अविश्वासको प्रस्तावको कसरी सामना गर्ने भन्ने विषयमा निर्णय लिने सरकारका प्रवक्ता मन्त्री बैजनाथ चौधरीले बताए । उनले अधिवेशन सुरु हुनुअघि प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकसमेत राखिएको बताए । ‘बुधबार बिहान पार्टी संसदीय दल र मन्त्रिपरिषद्को बैठक बस्नेछ । उक्त बैठकले केही निर्णय गर्नेछ,’ उनले भने, ‘अविश्वासको प्रस्तावलाई सरकारले कसरी फेस गर्ने भन्ने सम्बन्धमा पार्टी संसदीय दलको बैठकले निर्णय लिनेछ ।’
विपक्षी गठबन्धनले वैशाखदेखि नै अल्पमतमा रहेको प्रदेश सरकारविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने तथा नयाँ सरकार गठन हुने विश्वास व्यक्त गरेको छ । गठबन्धनका नेता माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले प्रदेशमा अग्रगमनले जित्ने र गठबन्धनले सरकार गठन गर्ने गरी अविश्वासको प्रस्ताव पारित गर्ने गरी तयारीमा जुटेको बताए ।
प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री वैशाखयता अल्पमतमा रहेको भन्दै उनको राजीनामा माग गर्दै आएको थियो । राजीनामा नआएपछि विशेष अधिवेशनको बाटो समाएको हो । ६ वैशाखयता मुख्यमन्त्रीविरुद्धमा दर्ता भएको यो तेस्रो अविश्वासको प्रस्ताव हो । यसअघि दुईवटा प्रस्ताव प्रक्रियामा नै नलगेर मुख्यमन्त्री पोखरेलले सरकार सञ्चालन गर्दै आएका थिए ।
सरकार अल्पमतमा रहेको भन्दै प्रदेश सभामा गत मंगलबार मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीका रूपमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई अगाडि सारेका छन् । ८० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीसँग ३८ र विपक्षीसँग ४१ सांसद छन् । लुम्बिनीमा माओवादी केन्द्रबाट पूर्ण घर्ती सभामुख छन् । सभामुखले भने निर्णायक अवस्थामा मात्रै मतदान गर्न पाउँछन् ।
लाइभदाङ । २७ श्रावण २०७८, बुधबार ०६:५९ बजे