
दीपक बोहरा
दाङ, १६ साउन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२, कवाङीका सुनिता चौधरी आफ्नै गाउँको साझा बगैँचामा फलेको ताजा र पोषिलो तरकारी पाएर निकै मख्ख थिइन ।
त्यस्तै रामकुमारी थारुले पनि गाउँकै तरकारी पाउँदा आफूले नयाँ सन्देश प्राप्त गरेको अनुभूति गरिन । यो तरकारी केवल उपहार मात्र थिएन, यसले उनीहरूलाई स्वस्थ रहन अनिवार्य रूपमा हरियो सागसब्जी खानुपर्छ भन्ने महत्वपूर्ण पाठ समेत सिकाएको उनले बताइन् ।
बेस संस्थाको पोषण मार्फत जीवन रूपान्तरण कार्यक्रमु अन्तर्गत सञ्चालित साझा घरबारी बगैँचा प्रबद्र्धन कार्यक्रमु ले स्थानीय १२ जना महिलाहरूलाई यो खुसी र सचेतना बाँडेको हो । हेलेन केलर इन्टरनेश्नल, आईडीइ र भिटामिन एन्जलको सहयोगमा गठित सुवर्ण कृषक समूहु ले गत वैशाखदेखि नै मेहेनत गरेर उब्जाएको यो तरकारी अहिले ती आमाहरूको भान्छासम्म पुगेको छ ।
कार्यक्रममा वडाध्यक्ष खुसीराम चौधरीले प्रत्येक बार, खाना चारु को सूत्र सिकाउँदै सुत्केरी अवस्थामा पोषिलो खानाको आवश्यकतामा जोड दिए । पोषण सहजकर्ता अर्विन्द्र चौधरी र भिएन चौधरीले विशेष गरी सुनौलो हजार दिनु का महिलाहरूले खानपिनमा हेलचेक्र्याइँ गर्दा बच्चाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै सचेत गराए ।
यसरी वितरण गरिएको पोषिलो सागसब्जी र दिइएको पोषण शिक्षाले कवाङीका आमाहरूमा अब आफ्नै घरबारीको ताजा तरकारी खाएर आफू र बच्चालाई स्वस्थ राख्ने नयाँ चेतनाको सञ्चार गरेको कृषक समुहका अध्यक्ष बसन्त चौधरीले बताए ।



लाइभदाङ । १६ श्रावण २०८३, शनिबार ०४:५४ बजे