
दाङ, १५ साउन ।
दाङको तुलसीपुरमा स्कुल बस रोकी विद्यार्थीमाथि कुटपिट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीबार बिहान करिब १०ः४० बजे तुलसीपुर उपमहानगरपालिका–८ गहतेखोला स्थित तुलसीपुरबाट भम्केतर्फ विद्यार्थी लिएर जाँदै गरेको ग्रेट अरनिको स्कुलको लु प्र ०२–००१ ख ७६४७ नम्बरको बस रोकी एक विद्यार्थीमाथि कुटपिट गरिएको थियो।
प्रहरीका अनुसार दंगीशरण गाउँपालिका–५ नौबस्ता निवासी १८ वर्षीय सुदिन गिरी र उनका साथी जेनिस भनिने व्यक्तिले मोटरसाइकलमा आएर बस रोकेका थिए। त्यसपछि बसमा चढी कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीमाथि कुटपिट गरेका थिए।
घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोस्ट बेलुवाबाट खटिएको प्रहरी टोलीले गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं डीएसपी डा। हेम बहादुर केसीले जानकारी दिए । उनका अनुसार गिरीलाई शुक्रबार साँझ करिब ६ बजे नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



लाइभदाङ । १५ श्रावण २०८३, शुक्रबार २३:०२ बजे