
तुलसीपुर, १७ साउन ।
तुलसीपुर ६ स्थित ग्रेट अरनीको माध्यमिक विद्यालयको कार्यक्रमको कार्यक्रम उत्साहजनक र सांगीतिक देखिन्थ्यो। विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका विज्ञान, व्यवस्थापन, शिक्षा, कम्प्युटर विज्ञानलगायतका करिब ६०० विद्यार्थीहरूलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रम केवल औपचारिक सम्बोधनमा मात्र सीमित रहेन। जब चर्चित गायिका रचना रिमाल स्टेजमा उक्लिइन्, तब विद्यालयको माहोल उत्सवमा बदलियो। रचनाले आफ्ना विभिन्न सांगीतिक प्रस्तुतिहरू मार्फत विद्यार्थीहरूलाई मन्त्रमुग्ध मात्र पारिनन्, उनीहरूलाई बेतोड ढंगले नचाएर माहोललाई निकै तताएकी थिइन् ।
नयाँ शैक्षिक यात्राको सुरुवात गर्न लागेका नवआगन्तुक विद्यार्थीहरू रचनाको धुनसँगै झुमिरहेका देखिन्थे। संगीतको यो जादुमय वातावरणमा विद्यार्थीहरूले आफ्ना शैक्षिक थकान बिर्सिएर खुलेर रमाइलो गरे । रचनाको प्रस्तुतिसँगै विद्यार्थीहरू स्वयंले पनि स्टेजमा पुगेर आफ्ना विविध लुकेका प्रतिभाहरू प्रदर्शन गरेका थिए, जसले कार्यक्रमलाई थप रोचक बनाएको थियो विद्यालयले विद्यार्थीहरूको स्वागतलाई केवल एउटा प्रक्रिया मात्र नबनाएर उनीहरूको उत्साह जगाउने एउटा अविस्मरणीय सांगीतिक पर्वको रूपमा प्रस्तुत गर्यो।
विद्यालय सञ्चालक समिति अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न समारोहमा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर १८ का अध्यक्ष तथा विद्यालयका पूर्व विद्यार्थी माधव वलीले विद्यार्थीहरूलाई सफल शैक्षिक भविष्यको शुभकामना दिए ।
त्यस्तै, विशिष्ट अतिथि प्याब्सन नगर अध्यक्ष डम्बर डाँगी र वक्ताका रूपमा जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष मुक्ती न्यौपानेले पनि विद्यार्थीहरूलाई हौसला प्रदान गरे ।
सञ्चालक समिति सदस्य मेघराज पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेत्रलाल भट्टराईले गरेका थिए ।



लाइभदाङ । १७ श्रावण २०८३, आईतवार १०:३७ बजे