१७ बिघा जग्गा अधिग्रहण नगरी टरिगाउँ एयरपोर्ट बन्दैनः नेता गिरी

dipak giri

दाङ, १७ साउन ।
नेपाली कांग्रेसका नेता एवं सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि १७ बिघा जग्गा अधिग्रहण पहिलो र अनिवार्य सर्त भएको बताएका छन् । उनका अनुसार सरकारले मुआब्जाका लागि ७० देखि ९० करोड रुपैयाँ बजेट छुट्ट्याएर १७ बिघा जग्गा नकिनेसम्म विमानस्थल विस्तारको वास्तविक टेन्डर प्रक्रिया अगाडि बढ्न सक्दैन ।

जग्गा अधिग्रहण नगरिकन ल्याइने सानोतिनो बजेटले विमानस्थलको ठोस विकास नहुने ठोकुवा गर्दै उनले वर्तमान अवस्थामा जग्गा व्यवस्थापन नै प्रमुख प्राविधिक र कानुनी अवरोध रहेको उल्लेख गरे ।

विगतका बजेट विनियोजनमाथि टिप्पणी गर्दै नेता गिरीले यसअघि छुट्याइएका ५ करोड वा १ करोड जस्ता साना रकमले विमानस्थलको धावनमार्ग विस्तार नभई केवल नाला निर्माण र डेन्ट(पेन्टिङ जस्ता मर्मतका काम मात्र भएको बताए । हाल चर्चामा रहेको २५ करोड रुपैयाँले पनि तारबार लगाउने र डोजर चलाउने जस्ता प्रारम्भिक काम मात्र हुन सक्ने तर मुख्य विस्तारका लागि जग्गाको स्वामित्व सरकारसँग हुनुपर्ने उनको तर्क छ ।


आफ्नो संसदीय कार्यकालमा टरिगाउँ विमानस्थलको मुद्दालाई निरन्तर उठाएको स्मरण गर्दै गिरीले लेखा समिति र संसदमा आफूले खेलेको भूमिकाका कारण विमानस्थलमा फ्युलिङ सेन्टर इन्धन डिपो स्थापना भएको दाबी गरे ।

साथै, आगामी दिनमा नेपाली कांग्रेसको स्पष्ट बहुमत आएमा विमानस्थलको विकासलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास दिलाउँदै उनले रातो किताबमा उल्लेखित बजेटको प्रकृति र कार्यान्वयनको अवस्थालाई नजिकबाट नियाल्न सबैलाई आग्रह गरे । उनले दाङको हापुरे स्थित एक कार्यक्रममा यस्तो अभिब्यक्ति दिएपछि चौतर्फी विरोध भएको छ ।