
काठमाडौं, १५ साउन ।
राज्यका विभिन्न निकायहरूमा देखिएका बेथिति र आम नागरिकका समस्याहरूलाई सम्बोधन गर्न दबाब दिने उद्देश्यले न्याय र अधिकारका लागि एक हुँकारु भन्ने नाराका साथ रोर अभियानु घोषणा गरिएको छ । अधिकार, जननिगरानी, जवाफदेहिता र सुधारकालागि दाङ तुलसीपुर निवासी हरिश गिरीको संयोजकत्वमा उक्त अभियान सञ्चालन गरिएको हो । अभियानलाई व्यवस्थित रूपमा अगाडि बढाउन ११ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यहरूमा हेमन्त सापकोटा, सन्ध्या बराल, सुप्रिया नेपाली, स्मृति बराल, सफल घिमिरे, नितेश योगी र करण राजलगायत रहेका छन् ।
राज्यले पछिल्लो समयमा जनसरोकारका महत्वपूर्ण मुद्दाहरूलाई छोड्दै गएको र गरिब एवं निम्न वर्गमाथि दमन बढाएको भन्दै यो अभियानको सुरुवात गरिएको हो । विशेषगरी देशमा बढ्दो महङ्गी, भ्रष्टाचार र बेरोजगारी नियन्त्रण गर्न राज्य असफल भएको अभियानकर्ताहरूको ठहर छ ।
त्यसैगरी, सुकुम्बासी बस्तीहरूमा डोजर आतंकु मच्चाइएको, पछिल्ला समयमा देखिएका साम्प्रदायिक हिंसाका घटनाहरूमा राज्य संवेदनशील नदेखिएको र वर्तमान अवस्थाले संविधान एवं लोकतन्त्र नै खतरामा पर्न सक्ने देखिएकाले खबरदारी र न्यायका लागि यो कदम चालिएको गिरीले बताए ।
यो अभियानले आगामी दिनमा नागरिकका हकअधिकार सुनिश्चित गर्न र राज्यलाई जिम्मेवार बनाउन विभिन्न दबाबमूलक कार्यक्रमहरू गर्ने लक्ष्य राखेको छ।



लाइभदाङ । १५ श्रावण २०८३, शुक्रबार १५:४५ बजे