कक्षाकोठाभन्दा बाहिरको सिकाई: सोल्टी होटलमा डिभाईन टेम्पलका विद्यार्थीको स्वागत

तुलसीपुर, १७ साउन ।
सामान्यतया विद्यालयका कार्यक्रमहरू विद्यालयकै प्राङ्गण वा स्थानीय सभाहलमा हुने गर्छन्। तर, दाङको तुलसीपुर ६ स्थित डिभाईन टेम्पल एकाडेमीले भने आफ्ना विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा बाहिरको व्यवहारिक अनुभव दिलाउन एक नौलो र उत्साहजनक बाटो रोजेको छ ।

तुलसीपुरबाट नेपालगञ्जसम्मको यो यात्रा र सोल्टी होटलको त्यो वातावरणले विद्यार्थीहरूमा नयाँ ऊर्जा थपेको देखिन्थ्यो। विद्यालयको यो प्रयासले विद्यार्थीहरूलाई व्यवस्थापनको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक जगतको प्रत्यक्ष अनुभव गराएको थियो

शनिबार नेपालगञ्ज स्थित सुविधासम्पन्न सोल्टी होटलको हलमा एक विशेष चहलपहल थियो। अवसर थियो— कक्षा ११ का व्यवस्थापन संकायका विद्यार्थीहरूका लागि आयोजित स्वागत तथा सचेतना कार्यक्रम ।

विद्यालयले आफ्ना नयाँ विद्यार्थीहरूलाई केवल शब्दमा स्वागत गरेन, उनीहरूलाई ठूला होटलहरूको व्यवस्थापन प्रणाली प्रत्यक्ष देखाउने र सिकाउने अवसर समेत प्रदान गर्‍यो । एकाडेमीका प्रिन्सिपल भोजराज न्यौपानेका अनुसार यो कार्यक्रम केवल स्वागतमा मात्र सीमित थिएन। हामीले खर्च व्यवस्थापन मात्र सोचेको भए तुलसीपुरकै होटलमा कार्यक्रम गर्न सकिन्थ्यो, तर विद्यार्थीहरूको सचेतना वृद्धि गर्न र उनीहरूलाई ठूला होटलको व्यवस्थापन सिकाउन हामीले यहाँ कार्यक्रम गरेका हौं, न्यौपानेले कार्यक्रमको उद्देश्य प्रष्ट पारे ।


कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित राष्ट्रिय परीक्षा बोर्ड दाङका प्रमुख भिम प्रसाद पोखरेलले शिक्षाको गुणस्तर केवल पुस्तकमा मात्र नभई त्रिकोणात्मक सम्बन्धमा हुने बताए । उनले शिक्षक, अभिभावक र विद्यार्थीबीचको बलियो सहकार्यबाट नै शिक्षा राम्रो र प्रभावकारी बन्ने विचार व्यक्त गरे । साथै, पछिल्लो समय युवाहरू विदेश पलायन हुने क्रम बढ्दो रहेकोमा चिन्ता व्यक्त गर्दै उनले यसलाई रोक्नुपर्नेमा जोड दिए । विद्यार्थीहरूलाई जीवनको मार्ग निर्देश गर्न मोटिभेटर क्षेत्र ज्ञवालीले भावनात्मक र प्रेरणादायी कुराहरू राखेका थिए। उनले विद्यार्थीहरूलाई आफ्ना आमाबुबाको मेहनतको कदर गर्न आग्रह गर्दै भने, बुवाआमाले निकै मेहनत गरेर पढाउनुभएको छ, त्यसैले लगनशील हुनुपर्छ। यी दुई वर्ष मेहनत नगरे भविष्यमा दुःख पाइन्छ।

त्यस्तै, नेसनल प्याब्सन तुलसीपुरका अध्यक्ष लोकेन्द्र बहादुर खड्काले विद्यार्थी जीवनको सार्थकता पढाइमै रहेको बताए भने विभागीय संयोजक प्रकाश भट्टराईले सपना देख्नुको महत्त्व दर्शाए ।

प्लस टु कोर्डिनेटर आकाश सिंहको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक पूर्ण केसीले गरेका थिए । कार्यक्रममा पत्रकार दीपक बोहरा र भाइस प्रिन्सिपल महेश लामिछाने लगायतले पनि विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आफ्ना भनाइहरू राखेका थिए ।