ग्वारखोलामा एकातिर अनुमति, अर्कोतिर दोहन

दीपक बोहरा
दाङ,३० जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबार देखि ग्वारखोलाको मजगाउँ पुलदेखि पाँचसय मिटर माथिबाट नदीजन्य बस्तु उत्खनन्कालागि अनुमति दियो । त्यहाँबाट मंगलबार सम्म पाँचसय घनमिटर उत्खनन्कालागि अनुमति दिएर २ लाख ११ हजार ९२० रुपैँया राजश्व पनि लियो । तर, उत्खनन्को जिम्मा पाएको वागेश्वरी कन्ट्रक्सनले जहाँबाट अनुमति पाएको हो, त्यो भन्दो पाँच सय मिटर माथिबाट उत्खनन् ग¥यो । ‘हामीले ग्वारखोला र कालाखोलाका संगमस्थलबाट उत्खनन गर्ने भनि अनुमति दिएका थियौं’, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले भने‘तर, उत्खनन्, सिंचाई कुला नजिकबाट भएछ ।’

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ सहितको करिब १८०० बिघा क्षेत्रफलमा सिंचाई हुने मलवारे सिंचाई नहर आयोजना र तारे कुलोको मुहानबाट उत्खनन् गरेको पाईएको थियो । मलवारे सिंचाई कुलोले १७ मौजामा सिंचाई सुविधा उपलब्ध गराउँदै आएको भएपनि सोही स्थानबाट उत्खनन् भएपछि त्यहाँको सिंचाई कुलोमा पनि जोखिम हुँदै आएको छ ।

पाँच सय घनमिटर क्षेत्रफलमा उत्खनन् गर्न दिएको भएपनि वागेश्वरी निर्माण सेवाले सिचाईलाई नै प्रभाबित पार्न थालेपछि आईतबार स्थानीयहरु त्यहाँ पुगेर विरोध समेत जनाएका थिए । पाँच वटा टिप्पर र एउटा एक्साभेटर प्रयोग गर्ने भनि अनुमति पाएपनि त्यहाँ १७ वटा भन्दा बढि सवारी साधनले दोहन गरिरहेका पाएपछि स्थानीयहरुले समेत विरोध जनाएपछि उत्खनन्मा संलग्नहरु भागेको तुलसीपुर १६ का वडाध्यक्ष सिवानन्द डाँगीले बताए ।‘पाँच वटा टिप्पर र एउटा एक्साभेटरलाई अनुगमनकालागि अनुमति दिइएको थियो’,उनले भने‘उनीहरुले १७ वटा टिप्परहरु लिएर सिंचाई कुलोको मुहानबाट उत्खनन् गरेपछि हामी सबै त्यहाँ गएर विरोध गरेपछि सबैको भागाभाग भएको थियो ।’

विहान सुर्य उदायदेखि, सााँझ सूर्य अस्ताउदासम्मकालागि उत्खनन् गर्न पाईने भएपनि उनीहरुले राति २/३ बजेसम्म उत्खनन् गर्ने गरेको स्थानीय पशुपति विश्वकर्माले बताईन् ।‘हामीले सिंचाई कुलो नजिकै छ, किन यसरी खोलामा डोजर लगाउनु हुन्छ, भन्दा तपाईहरु चुप लाग्नुस्, भनेर थर्काउनु हुन्छ’,उनले भनिन् ।


पटक–पटक यसरी उत्खनन् हुँदा कुलोमा पानी समेत नचढ्ने उनको भनाई थियो । आबश्यक भन्दा बढि उत्खनन् हुँदा घरखेतमा बाढी पस्ने गरेको स्थानीय लालमति साहुले बताइन् ।

मलवारे सिंचाई आयोजना दाङको तेस्रो ठूलो आयोजना भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने वडाध्यक्ष डाँगीले बताए । उनले उत्खनन्का क्रममा गुण्डागर्दी गर्ने, धम्काउने समेत कार्य हुने गरेको समेत बताए । यसरी अनुमति नदिएको ठाउँमा उत्खनन् गरेको भन्दै उक्त कम्पनीलाई अर्को पटक उत्खनन्कालागि अनुमति दिन लायक नभएको ठहर गर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

एकातिर अनुमति पाएपनि अर्को तिर पनि त्यही कागज देखाएर जनतालाई ठगी गर्ने कार्य गरेको भन्दै कानुन बमोजित सजाय गर्ने समेत बताए । एक मिटर मात्रै गहिरो खन्न पाइने भएपनि त्यहाँ करिब ७ मिटरसम्म गहिरो खनेको समेत पाईएको छ । उत्खनन्को जिम्मा पाएको कम्पनीका सञ्चालक बसन्त वली हुन् ।