राप्तीका विपन्न किसानलाई फलफूलका बिरुवा, घरबगैंचामार्फत पोषण र आम्दानी बढाउने लक्ष्य

तुलबहादुर कवँर मगर
मसुरिया, १५ साउन।
दाङको राप्ती गाउँपालिकामा १ सय ४५ विपन्न किसानलाई घरबगैंचा स्थापना गर्न फलफूलका बिरुवा वितरण गरिएको छ। विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिकासँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित ‘एकीकृत सामुदायिक विकास परियोजना’ अन्तर्गत किसानलाई बिरुवा वितरण हो।

परियोजनाको ‘खाद्य तथा पोषण सुरक्षा’ कार्यक्रमअन्तर्गत किसानको आवश्यकता अनुसार आँप, लिची, कागती, केरा, मेवा र अम्बाका उन्नत जातका बिरुवा वितरण गरिएको केन्द्रका कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार परियोजनाको उद्देश्य घरमै पोषणयुक्त फलफूल उत्पादन बढाउनुका साथै अतिरिक्त उत्पादन बिक्री गरेर किसानको आम्दानीसमेत वृद्धि गर्नु रहेको छ। स्थानीय स्तरमै फलफूल उत्पादनको विस्तारले परिवारको पोषण अवस्थामा सुधार ल्याउने र दीर्घकालीन रूपमा आयआर्जनको आधारसमेत बलियो बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमले विशेष गरी विपन्न तथा खाद्य असुरक्षाको जोखिममा रहेका परिवारलाई लक्षित गरेको बताइएको छ। घरबगैंचा विस्तारसँगै पोषणमा सुधार, वातावरण संरक्षण र जलवायु अनुकूल कृषि प्रणाली प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास परियोजनाले लिएको छ।


कार्यक्रम संयोजक आचार्यका अनुसार नामसालिङ सामुदायिक विकास केन्द्रले कृषि, पोषण, आयआर्जन, जलवायु परिवर्तन अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आएको छ। समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउँदै जलवायु अनुकूल अभ्यासमा अभ्यस्त गराउने लक्ष्यसहित परियोजना अघि बढाइएको उहाँले बताउनुभयो ।

वि।सं। २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापना भएको नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा वि।सं। २०७४ देखि ‘एकीकृत सामुदायिक विकास परियोजना’ सञ्चालन गर्दै आएको छ। परियोजनामार्फत कृषि उत्पादन वृद्धि, खाद्य तथा पोषण सुरक्षा, जीविकोपार्जन सुधार र सामुदायिक सशक्तीकरणका विभिन्न कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन्।