गठबन्धनबाट तुलसीपुरको मेयरमा गेहेन्द्र गिरी भिड्दै

दीपक बोहरा
दाङ,१० वैशाख /  तुलसीपुर उपमहानगरपालिकाको मेयरमा सत्तापक्ष गठबन्धनबाट गेहेन्द्र गिरी भिड्ने भएको छ । काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरीलाई नै उम्मेदवार बनाउने गरि केन्द्रले समेत प्रदेशलाई निर्देशन दिएको थियो । त्यही अनुसार प्रदेशले गिरीको नाम टुंग्याउने तयारी रहेको महाधिवेशन प्रतिनिधि अरुण लहरेले बताए ।

पूर्वसांसद समेत रहेका गिरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि काँग्रेसबाट तुलसीपुरको मेयरमा उम्मेदवार बनेका थिए । तर, त्यतिबेला एमालेका उम्मेदवार घनश्याम पाण्डेले विजयी हाँसिल गरेका थिए । पाण्डेले २२८५७ मत प्राप्त गरेका थिए, भने गिरीले १८९०३ मत प्राप्त गरेका थिए ।

घोराहीको सेवारमा २००८ सालमा जन्मिएका गिरी प्रजातन्त्र सेनानी तथा बाजे चित्र गिरीको प्रेरणाले राजनीतिमा लागेका थिए । सामान्य शिक्षा दाङमै लिएर भारतको बनारसबाट एसएलसी सम्मको अध्ययन पूरा गरेका उनी बनारसबाटै राजनीतिसँग नजिकिएका थिए । उनी २०५६ सालको आम निर्वाचनमा दाङ क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए ।


तरुण सहयोग समितिको सदस्य भएका गिरीले ०२३ सालमा कांग्रेसको पार्टी सदस्यता प्राप्त गरेका हुन् । त्यसयता प्रशासनको तारो बनेका उनी ०२९ सालसम्म भारतमा निर्वासित जीवन बिताएर ०३० सालमा नेपाल फर्किएका थिए। २०३० सालदेखि २०३४ सालसम्म बन्दी जीवन बिताएका गेहेन्द्र पञ्चायत विरुद्ध बहुदलको पक्षमा आन्दोलन चर्किन थालेपछि रिहा भएका थिए ।

२०४९ सालदेखि ०५८ सालसम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य हुँदै दुई कार्यकालसम्म सभापति भएका हुन् । दोस्रो संविधानसभा निर्वाचनमा समेत दाङ क्षेत्र नम्बर ५ बाट टिकटको दाबेदार रहेपनि भाइ दीपक गिरीलाई पार्टीले टिकट दिएको थियो। त्यसयता दाजुभाइबीच सुमधुर सम्बन्ध नरहेको कांग्रेस वृत्तमा चर्चा पनि हुने गर्दछ । पछिल्लो समय दीपक संघमा लड्ने र गेहेन्द्र उपमहानगरमा आउने यी दाजुभाईबीच सहमति भएको बुझिएको छ ।
उपमेयरमा राणा
तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख एकीकृत समाजवादीले पाएको छ । उपप्रमुखमा समाजवादीको प्रदेश बैठकले यस क्षेत्रका नेता जोगबहादुर राणालाई उम्मेदवार बनाउनुपर्ने भन्दै केन्द्रमा सिफारिश गरेको छ । गिरी पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज हुन् । उनी दाङका कम्युनिष्ट आन्दोलनका अगुवा हुन् ।
घोराहीमा डायमण्ड
गठबन्धनबाट घोराहीको मेयरमा हेमराज शर्मा‘डायमण्डलाई अघि सारिएको छ । माओवादी केन्द्रको भागमा मेयर परेको थियो । पार्टीले एकल सिफारिश गरेपछि उनी नै उम्मेदवार बन्ने निश्चित भएको छ । त्यही अनुसार डायमण्डले आफ्नो प्रचारलाई तिब्र बनाएका छन् । उनै पार्टीका केन्द्रीय सदस्य हुन् । त्यस्तै उपमेयर काँग्रेसको भागमा परेको छ । काँग्रेसले भुपबहादुर डाँगीलाई उपमेयर बनाउने तयारी गरेको एक नेताले बताए ।