गुडिरहेको ट्रकमा आगलागी

दाङ, १३ साउन । दाङमा गुडिरहेको ट्रकमा आगो लागेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३३३७ नम्बरको ट्रकमा एक्कासी आगलागी हुँदा जलेर नष्ट भएको छ ।

आइतबार बिहान लमही नगरपालिका ९ चाउखोलानजिक जंगल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

‘वायरिङ सर्ट भएर आगो लागेको भन्ने छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ, अनुसन्धानपछि कारण खुल्ला’, उनले भने । 


लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । प्रहरी उपरीक्षक केसीका अनुसार ट्रकमा चालकसहित तीन जना सवार थिए । आगो निभाउन प्रयास गर्दा कञ्चनपुर जिल्ला कृष्णनगर नगरपालिका २ निवासी ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन् । ट्रकमा आगो लागेको खबर पाउनासाथ राजमार्ग अन्तर्गत पर्ने अस्थायी पोष्ट रिहार दाङबाट प्रहरी नायब निरीक्षक माधव रावतको कमाण्डमा पाँच जनाको टोली घटनास्थल खटिएको थियो ।

आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खाली ट्रक सम्राट सिमेन्ट उद्योगमा सिमेन्ट लिन आइरहेको थियो । चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।