प्रादेशिक अस्पतालको शवगृहः कहिल्यै शवमा कुहिएर किरा पर्छ, कहिल्यै मुसाले खान्छ

 दाङ,६ बैशाख ।


केही महिना अघि दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखएको शव मुसाले खाएको अबस्थामा थियो । गएको फागुनमा आत्महत्या गरेकी तुलसीपुर ९ अटोभिलेज निवासी ६० बर्षीया ठगी बोहराको पोष्टमार्टमकालागि तुलसीपुरको शवगृहमा राखिएको थियो । शवगृहमा राखिएको शवको टाउकोलगायत शरिरका बिभिन्न अंगमा मुसाले खाएको अबस्थामा थियो । त्यो देखेपछि आफन्तीले आपत्ति जनाएका थिए । अस्पताल प्रशासनसंग भनाभन समेत भएको थियो । त्यसपछि सुधार गर्ने प्रतिबद्धता जनाएपनि पुनः त्यस्तै समस्या दोहोरिएको छ । आत्महत्या गरेर मृत्यु भएकी तुलसीपुर ९ बेलुवा निवासी २६ बर्षीया उर्मिला केसीको शवगृहमा राखिएको शव कुहिएर गलेको अबस्थामा रहेपछि आफन्तीहरुले आपत्ति जनाए । शव कुहिएपछि त्यसले पोष्टमार्टम रिपोर्ट पनि सत्य आउन नसक्ने र प्रमाण पनि नष्ट हुने भन्दै आफन्तीहरुले आपत्ति जनाए ।“शवगृहमा फ्रिज हुनुपर्ने, शव कुहिनुले सबै प्रमाण नष्ट भएर गएका छन्”,आफन्त कृष्ण केसीले भन्नुभयो“त्यसैले यस्तो लापरवाहीले धेरै समस्या निम्त्याउछ ।” गएको चैत ३० गते मृत्यु भएकी उनको पोष्टमार्टम ४ गते पोष्टमार्टम गर्दा कुहिएको अबस्थामा फेला परेको थियो । यो विषय प्रादेशिक अस्पताल प्रशासनले पनि गम्भीरताकासाथ लिएको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहका अनुसार फ्रिजमा लाईन नभएकाले शव यसरी कुहिने अबस्थामा आएको हो ।“ त्यो दिन जिल्लामा हावहुरी आयो, त्यसले गर्दा विद्युत अबरुद्ध भएको थियो”,उनले भने “त्यही कारणले पनि शव कुहिने अबस्थामा आएको हो ।” शव राखेको ५ दिन भएकाले पनि यसरी कुहिने अबस्था आएको हुन सक्ने उनको भनाई छ । त्यो बीचमा पीडितहरुको अनुमति नलिएर आफूहरुले शव हेर्न पनि नमिल्ने भन्दै शवको अबस्था कस्तो छ, भन्ने थाहा पनि नहुने उनको भनाई छ ।