निर्माण भएको साढे २ बर्षपछि शंकर पोखरेलले गरे तरकारी बजार उद्घाटन

दीपक बोहरा
दाङ
२३ चैत / दाङको तुलसीपुर स्थित तरकारी तथा फलफूल बजार निर्माण सम्पन्न भएको २०७६ मंसिर ८ गते हो । निर्माण पूरा भएपछि त्यहाँ तरकारी तथा फलफूल बजार सरिसकेको थियो । तुलसीपुर उपमहानगरपालिकाले बहुआयामिक तुलसी ट्रेड टावर बनाउने भनि साबिकको स्थानबाट तरकारी बजार सारिएको थियो । तर, त्यसको साढे २ बर्ष पुग्नै लाग्दा बुधबार उक्त तरकारी बजारको लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमालेका महासचिब शंकर पोखरेलले उद्घाटन गरे ।

निर्वाचनको मुखैमा गरिएको यो उद्घाटन चुनाब केन्द्रित भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना पनि हुने गरेको छ । यो कुरामा शंकर पोखरेलको भाषणबाट पनि प्रमाणित हुन्थ्यो । करिब आघा घण्टा भाषण गरेका पोखरेलले आफ्नो पार्टीले गरेका कामको बढाई चढाई गरे । उनले आफ्नो कालमा दाङमा धेरै पुलहरु बनाएपनि त्यसको चर्चा नहुँने तर, काँग्रेसको बनाएको एउटा पुल बनाउदैमा धेरै चर्चा हुने गरेको बताए ।‘ ग्वारखोलामा २ वटा पुल बनायौं, अर्को बन्दैछ, ग्वारखोलामा तीन वटा पुल बन्नु सामान्य कुरा होईन्, बबईमा हाफ पुल थियो । त्यसलाई भजाएर राजनीति गरे, अहिले बबईमा तुलसीपुर क्षेत्रमा मात्रै २ वटा बन्दैछन् ।

हापुरखोलामा २ वटा पुल बन्ने प्रक्रियामा छन्’,उनले भने‘ पश्चिम तिरका खोलाहरुमा पनि पुल बन्दैछन। पातुखोलामा एउटा पुल अन्तिम चरणमा पुगेको छ, अर्को सुरु भएको छ, महंगो संरचनाका रुपमा रहेका पुल निर्माणको काम यो पाँच बर्षमा अघि बढायौं । तर, यी पुलको चर्चा हुँदैन ।’

तुलसीपुरको चासोको विषयका रुपमा रहेको एयरपोर्टको पनि उत्तिकै चर्चा गरे र दोष काँग्रेसकै टाउकोमा थुपारे ।‘ पहिलो पटक केपी वली प्रधानमन्त्री भएको बेला एयरपोर्ट विस्तार गर्ने कुरा अघि आयो । बजेटमा पनि आयो । केपी वलीको सरकार हटेपछि काठमाडौंको प्राबिधिक टोली आयो । काँग्रेसका नेताहरु लाम लागेर जानु भयो । काँग्रेसको सरकारका बेला उहाँहरुले ल्याएका प्राबिधिकहरुले एयरपोर्ट ठूलो बनाउन सम्भव छैन, भन्ने रिपोर्ट तयार गर्नुभयो’, उनले भने‘ काँग्रेसको पालामा ठूलो एयरपोर्ट बनाउन पाइदैन भन्ने, अहिले आएर एमालेले नारायणपुर बनाउन खोज्यो भनेर प्रचार गरियो ।’

पोखरेलले घाँस उम्रिएको एयरपोर्टमा आफूहरुले नै विमानसेवा नियमित बनाउने समेत दावी गरे । यो एयरपोर्टलाई प्राबिधिकले ठूलो बनाउन सकिन्छ, भन्ने रिपोर्ट बनाएलगतै विस्तार गर्न आफू तयार रहने समेत बताए । त्यसकालागि अहिलेको सरकारले बजेटको पनि व्यबस्थापन गर्नुपर्ने बताए ।


चारलेन अलपत्र पार्ने ठेकेदारको बचाउ
अहिले शंकर पोखरेल लमही–तुलसीपुर चारलेन निर्माण कार्य अलपत्र पार्ने ठेकेदारको बचाउमा निकै समय खर्च गर्ने गरेका छन् । मंगलबार घोराहीमा चारलेनका ठेकेदार तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका छोरा अनुप पाण्डेको बचाउ गरेका पोखरेलले बुधबार तुलसीपुरमा पनि बचाउकै भाषा बोेले ।‘लमही–तुलसीपुर सडकलाई चारलेन बनाउने हाम्रो योजना छ । तर, अहिले एउटा ठूलो आरोप लगाउने गरियो–मेयरको छोरासंग जोडेर ।

खासमा उहाँले ठेक्का लिएको होईन्, सहजीकरण गरेको हो’, पछि काम अगाडी नबढेपछि उहाँले अहिले जिम्मेवारीबाट पनि छोडि सक्नु भयो, अब केन्द्र सरकार र सम्बन्धित ठेकेदारले उक्त सडक निर्माणको जिम्मा लिएर छिटो निर्माण गर्नुपर्छ ।’ सक्नु पर्ने समय भएपनि उक्त सडक अहिलेसम्म ७ प्रतिशत मात्रै काम भएको छ । सडक चारलेनको कार्य अलपत्र पर्दा धेरै दुर्घटनाहरु हुने गरेका छन् ।

विद्यालयको जग्गा भाडामा लिएर तरकारी बजार
उक्त तरकारी बजार दुई करोड ३५ लाख४५ हजार लागतमा निर्माण पूरा भएको हो । निजि सरकारी साझेदारी सिद्धान्त अनुरुप सरकारको १ करोड २ लाख ४५ हजार र व्यबसायीको १ करोड ३३ लाख लागतमा उक्त तरकारी बजार निर्माण भएको हो । २०७५ असार २१ गतेदेखि निर्माण सुरु भएको उक्त बजारको २०७६ मंसिर ८ गते पूरा भएको थियो । मावि सेन्टर तुलसीपुरको जग्गालाई २० बर्षसम्मको लागि भाडामा लिएर त्यो तरकारी बजार निर्माण गरिएको हो ।

त्यसमा व्यबसायी, विद्यालय र उपमहानगरपालिकाबीच सम्झौता भएको छ । १३ कठ्ठा जग्गा भाडामा लिइएको छ । तरकारी तथा फलफूल बजार ब्यबस्थापन समितिका सचिब झुपलाल खड्काका अनुसार अहिले त्यहाँ ३८ वटा स्टलहरु रहेका छन् । ति मध्ये १९ वटा फलफुल व्यापार, १७ वटा तरकारी, एउटा कार्यालय र एउटामा चमेनागृह रहेको छ । त्यहाँ हाल दैनिक तरकारीको ३ लाख ५० हजार कारोवार हुने गर्छ, भने फलफूलको ५ लाख बराबरको कारोवार हुने गरेको छ ।

यसअघि हालको तुलसीपुर उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ तरकारी बजार थियो । त्यहाँ २०५७ सालमा उक्त तरकारी बजार स्थापना गरिएको थियो । साथै मावि सेन्टर स्कुलको ८ कोठे भवनको समेत महासचिब पोखरेलले उद्घाटन गरेका छन् ।