म्यासेन्जरमा खाता र मोवाईल नम्बर मागेर २ लाख गायब

दाङ, १३ पुष ।
दाङमा एक ब्यक्तीको बैंक खाताको रकम चोरी भएको छ । मंगलबार विहान दंगीशरण गाउँपालिका –५ मिरौली निवासी घर भई हाल तुलसीपुरमा ब्यबसाय गर्दै आएका ज्ञानबहादुर चौधरीको खाताबाट दुई लाख २० हजार रुपैँया चोरी भएको हो ।

विहान फेसबुक म्यासेन्जरमा एनआईसी एसिया बैंक नामबाट म्यासेन्जर आयो । उनले त्यसमा‘रेस्पोन्स’ गरे । आफू एनआईसी एसिया बैंकको कर्मचारी भएको भन्दै खातामा समस्या देखिएको र त्यो खाता बनाउनकालागि भन्दै खाता नम्बर र मोवाईल नम्बर माग्यो ।

उनले बैंककै लोगो राखेको र बैंककै नाममा म्यासेज आएपछि विश्वास माने र खाता नम्बर तथा मोवाईल नम्बर दिए । मोवाईलमा फोन पनि आएपछि उनले झनै विश्वास गरे । ‘पहिले पनि खातामा समस्या आएमा बैंकबाट फोन आउथ्यो’,उनले भने‘अहिले पनि त्यही होला भनेर पठाएँ ।’


मोवाईल नम्बर र खाता दिएपछि केही समयमा मोवाईलमा ओटीपी कोड आयो । चौधरीलाई ओटीपी कोर्ड आफू भन्दा अरुलाई थाहा दिनु हुँदैन, भन्ने थाहा थियो ।तर, पनि कर्मचारी नै हुँ भन्दै मागे पनि उनले त्यो कोर्ड दिए । ‘दुईपटकसम्म त कोड पनि दिइँन,त्यो कोर्डको म्याद २ मिनेट सम्म हुँदो रहेछ, त्यसपछि उताबाट फोन आयो, कर्मचारी भनेँपछि विश्वास लाग्यो’,उनले भने‘त्यसपछि दिएँ ।’

उनले त्यो ओटीपी कोर्ड दिएको १५/२० मिनेटमा २ लाख २० हजार रुपैँया खाताबाट अन्तै पठाएको भन्ने म्यासेज आयो । त्यसपछि उनलाई त्यो खाताको रकम चोरी भएको भन्ने लाग्यो र खाता भएको एनआईसी एसिया बैंकमा गए । त्यहाँ जाँदा उनको खता नम्बर ०६५४१५११०४८७९००१ बाट सिधै सिटिजन बैंकमा पठायो । त्यहाँबाट एभ्रेष्ट, मेघा बैंकमा पठाईसकेको पाईयो । त्यसपछि चौधरीलाई सिधै प्रहरी कार्यालयमा सम्पर्क भनेपछि उनी प्रहरी कार्यालयमा पुगे । कुन खातामा पठाएको, कुन ब्यक्तीको खातामा पठाएको भन्ने प्रष्ट थाहा भएकाले त्यही अनुसार कदम अगाडी बढाईएको चौधरीले बताए । उनका अनुसार चोरी गर्ने ब्यक्तीको खाता कोहलपुर शाखामा रहेको बुझिएको छ ।

एनआइसी एसिया बैंकका प्रमुख राजीव वलीले भने कुनै पनि ब्यक्तीले ओटीपी(वान टाईम पासवर्ड) नम्बर कसैलाई पनि दिन नहुँने बताए । खाता ह्याक गर्ने गिरोह सक्रिय भएको अबस्थामा फेसबुक, म्यासेन्जरलगायत अन्य कुनै पनि माध्यामबाट मागेपछि बैंक, खाता, मोवाईल नम्बर, ओटीपी कोर्डजस्ता बैंकका विवरणहरु कसैलाई पनि नदिन समेत अनुरोध गरेका छन् ।